यूवापूस्ताका दर्शकहरुको सबैभन्दा लोकप्रिय नायक हुन, अनमोल केसी । पहिलो चलचित्र ‘होस्टेल’ बाट दर्शकहरुको नजरमा परेका अनमोललाई चलचित्र ‘जेरी’ ले सुपरस्टारको तक्मा भिराइदियो । त्यसपछि त उनको फ्यान क्रेज यूवापूस्ताका दर्शकहरुमा लोभलाग्दो छ । अझ यूवतीहरु त अनमोलको एक झलक हेर्नका लागि पनि हरिहत्ते गर्छन । तर, अनमोल केही महिनायता घरको चार कुनामा मात्रै सिमित छन् । किनकी उनी आफ्नो पाँचौ चलचित्र ‘कृ’ को तयारीमा छन्, जसका लागि उनी कपाल पालिरहेका छन् भने शरीर बनाइरहेका छन् । नायक अनमोल घरबाट बाहिर ननिस्कनुको कारण चाहिँ आफ्नो ‘कृ’ लुक्स बाहिर नआओस् भन्ने मनसायले हो । उनी चलचित्र ‘कृ’ को छायाँकन सुरु नभएसम्म मिडिया, फिल्मी कार्यक्रम त परै जाओस् आफन्तले पनि आफूलाई नबोलाऊन् भन्ने चाहन्छन् रे ! यो कुरा उनका पिता भुवन केसीले एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै गर्दा भनेका छन् । भुवन भन्छन्, ‘अनमोल ‘कृ’ को सुटिङअघि घरबाहिर निस्किनै चाहँदैन । ऊ पूर्ण रूपले क्यारेक्टरमा भिज्न चाहन्छ । त्यसैले बाहिर निस्किन मान्दैन ।’
यो चलचित्रको छायाँकन सुरु नभएपनि रिलिज मिति भने फाइनल भइसकेको छ । फागुणको पहिलो साताबाट छायांकनमा जान लागेको यो चलचित्रलाई निर्माता सुवास गिरीले यसअघि नै आउँदो बर्षको भदौ १६ गतेबाट रिलिज गर्ने जानकारी दिइसकेका छन् । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुवास इन्टरटेन्मेन्टको निर्माण र द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रमा सुवास गिरी र नायक भूवन केसीको लगानी रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा कमल गिरी, सह–निर्मातामा श्री पराजुली रहेका छन् ।