दुई दिन अगाडी मात्र नायक निखिल उप्रेतीले अभिनय गर्न लागेको चलचित्र ‘पिंजडा ब्याक एगेन’ अर्को बर्षको दशैंको फुलपातीमा प्रदर्शनमा आउन लागेको खबर ‘सिनेखबर डटकम’ मा प्रकाशन भएको थियो । निर्माणपक्षले भने यो कुरा लुकाउँदै आएको थियो तर ‘सिनेखबर डटकम’ मा प्रकाशित समाचार पश्चात निर्माणपक्षले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै २०७४ सालको बडा दशैंको फुलपातीमा चलचित्र ‘पिंजडा ब्याक एगेन’ रिलिज गर्ने औपचारिक घोषणा गरेको छ । निर्देशक हिमाल केसीले आफ्नो फेसबुकमा चलचित्र ‘पिंजडा ब्याक एगेन’ को एक पोष्टर राख्दै रिलिज मिति पनि फाइनल गरेका हुन । चलचित्र ‘पिंजडा’ नायक निखिल उप्रेतीको पहिलो डेव्यू चलचित्र हो । लामो समयदेखी द्धन्द्ध निर्देशनमा सक्रिय हिमाल केसीले निखिललाई नै मुख्य भूमिकामा राख्दै ‘पिंजडा ब्याक एगेन’ निर्माण गर्न लागेका हुन ।
गज्जबको कुरा त यो छ कि सोही मितिमा नायिका रेखा थापाको चलचित्र ‘रुद्रप्रिया’ पनि रिलिज हुँदैछ । रियल लाइफमै एकअर्काका दुश्मन मानिने रेखा र निखिलको भिडन्त अर्को बर्षको दशैंमा रोमान्चक हुने अनुमान यतिबेलै देखी धेरै चलचित्रकर्मीहरुले लगाउन सुरु गरिसकेका छन् । २०७४ सालको दशैंको फुलपातीमा रेखा र निखिल मात्रै होइन रेखा थापाका पूर्वपति एवं निर्माता छविराज ओझाले पनि आफ्नो चलचित्र ‘मंगलम’ लाई सोही मितिमा ल्याउन भोलीबाट छायाँकन सुरु गर्दैछन् । यसरी हेर्दा अर्को बर्षको दशैंमा निखिल, रेखा र छविराज ओझाको भिडन्त हेर्न लायककै हुने देखिन्छ । रेखाको ‘रुद्रप्रिया’, निखिलको ‘पिंजडा ब्याक एगेन’ र छविराज ओझाको ‘मंगलम’ सिंगल हल लक्षित सिनेमा हुन त्यसैले पनि यो अडकल काट्नु गलत हुन्न कि यी तिनै चलचित्रको भिडन्त सिंगल हलमा नै घमासान हुनेछ ।
सिंगल हलका बादशाह मानिने निखिल र रेखाको अगाडी आफ्नो चलचित्र चलाउनका लागि निर्माता छविराज ओझा पनि विभिन्न फण्डा निकाल्न पछाडी हट्ने छैनन् । निर्माता छविराज ओझाले निर्माण गर्न लागेको चलचित्र ‘मंगलम’ मा नायिका शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाइँ, पुष्पल खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ । त्यस्तै आफ्नै होम प्रोडक्शनबाट ‘रुद्रप्रिया’ निर्माण गर्न लागेकी नायिका रेखाले यो चलचित्रमा सुदर्शन थापा र अर्पण थापालाई मुख्य भूमिकामा फाइनल गरिसकेकी छिन् । चलचित्रमा रेखाको पनि मुख्य भूमिका रहनेछ । त्यस्तै चलचित्र ‘पिंजडा ब्याक एगेन’ मा निखिलको अपोजिटमा सारा शिर्पाली हुनेछिन् भने अशिष्मा नकर्मीको पनि मुख्य भूमिका रहनेछ । चलचित्र ‘पिँजडा ब्याक एगेन’ को छायाँकन माघ १५ पछि सुरु हुनेछ ।