गएको शनिबार लण्डनको नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झण्डिएको अबस्थामा मृत फेला परेका चर्चित नेपाली र्याप गायक यमबुद्ध (अनिल अधिकारी) शव नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । यमबुद्धको पोष्टमार्टम रिपोर्ट बिहिबार परिवारले प्राप्त गरेपछि नेपाल पठाउने कानुनी प्रक्रिया सुरु भएको हो । नेपाल ब्रिटेन डटकममा प्रकाशित समाचारका अनुसार, नेपाली दूतावास लन्डनले यमबुद्धको शव नेपाल लैजान आवश्यक ट्राभल डकुमेन्ट (रिप्याट्रीयसन लेटर) उनको परिवारलाई दिइसकेको छ । नेपाली दूतावास लन्डन प्रबक्ता शरदराज आरणका अनुसार, शव नेपाल लैजान आवश्यक डकुमेन्ट बनाउन यमबुद्धकी श्रीमति अस्मिता अधिकारी बिहिबार दिउँसो नेपाली दूतावास लन्डन पुगेकी थिइन् । दूतावासले यमबुद्धको शव उनकी श्रीमतिसंगै लिएर जान मिल्ले गरि डकुमेन्ट तयार गरिदिएको जनाएको छ । परिवारले चिकित्सकीय रिपोर्ट प्राप्त गरेसँगै शव नेपाल पठाउने थप कानुनी प्रक्रिया सकिए पछि मात्र नेपाल शव पठाउने तयारी गरेका छन् । पोष्टमार्टम रिपोर्टमा उनको अन्तिम मानसिक स्थिति सन्तुलित देखिएको छ भने लागूऔषध सेवन गरेको कुनै तथ्य फेला परेको छैन। हल्का मादक पदार्थ सेवन गरेको देखिएको रिपोर्टले औंल्याएको छ।