बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘लभ लभ लभ’ को अडियो एल्बम बिहिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । ४ गीत समाबेश अडियो एल्बममा सुरेश राइको संगीत छ । अडियो एल्बमसँगै बिहिबार नै निर्माणपक्षले चलचित्रमा समाबेश दुई भिडियो गीत पनि रिलिज गरिएको छ । युटुबमा भने निर्माणपक्षले दुई गीत मध्ये ‘तिमी अघि-अघि’ बोलको गीत मात्र सार्वजनिक गरेको छ । गीतमा अरिफ रौफको स्वर रहेको छ भने सुरेश राइको शब्द तथा संगीत छ । चलचित्रका दुई मुख्य पात्र स्वस्तिमा खड्का र सुरज पाण्डेको प्रेमभाव बोल्ने सार्वजनिक गीतलाई पोखरा आसपासमा छायाँकन गरिएको हो ।
कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक दीपेन्द्र के. खनालले चलचित्र ‘लभ लभ लभ’ सिम्पल लभस्टोरी कथामा तयार भएको बताए । उनले भने, ‘मैले अहिलेसम्म पूर्णरुपमा लभस्टोरी चलचित्र बनाएको छैन तर पहिलो पटक प्रयास गरेको छु । चलचित्रमा सबैले भोगेको, देखेको कथा देख्न सकिन्छ ।’ चलचित्रको मुख्य कलाकारमा स्वस्तिमा खड्का (बस्नेत), सुरज पाण्डे, देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायतका कलाकारहरु छन् । ‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा निर्वाह गरेकी स्वस्तिमा यसै चलचित्रबाट लिड रोलमा देखिएकी हुन भने सुरजको यो डेब्यु चलचित्र हो । अहिले यो चलचित्र पोस्ट प्रोडक्सनमा रहेको छ । अमृत पाण्डे र शर्मिला पाण्डेको लगानीमा ‘लभ लभ लभ’ तयार भएको हो । चलचित्रको सम्पूर्ण छायाँकन पोखरामा सकिएको हो । चलचित्रका सबै गीतमा सुरेश राईको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । चलचित्रलाई निरज कँडेलले खिचेका हुन ।