हलीउड र बलीउड सेलिब्रेटीको आत्मकथा लेख्ने होडबाजी जसरी लामो समयदेखी चलिरहेको छ त्यसरी नै अहिले नेपाली सेलिब्रेटीहरुको पनि बायोग्राफी लेख्न राम्रै होडबाजी चलिरहेको देख्न सकिन्छ । गएको बर्षदेखी नायक भुवन केसीको बायोग्राफी बजारमा आउने हल्ला सेलाउन नपाउँदै चाँडै नायिका करिश्मा मानन्धरको पनि आत्मकथा बजारमा आउने भएको छ । झण्डै १ बर्षदेखी घोष्ट राईटिङ नेपालले करिश्माको आत्मकथा तयार पारिरहेको छ भने यसलाई पत्रकार अश्विनी कोइरालाले लेखिरहेका छन् ।
‘सिनेखबर डटकम’ सँगको एक भेटको क्रममा नायिका करिश्माले आफ्नो समय अभावका कारण आत्मकथालाई समय दिन नपाएका कारण बजारमा आउन ढिलो भइरहेको बताइन । उनले भनिन्, ‘सायद अबको ५/६ महिनामा मेरो आत्मकथा बजारमा आउँछ । मैले उहाँहरुलाई अहिले भने जस्तो समय दिन पाएकी छैन तर फस्र्ट कपी निस्किएपछि म चेक गर्छु । त्यहाँ मेरो भावना प्रस्पोटन भएका छन् कि छैनन् त्यो हेर्छु । मलाई चाहिँ के लाग्छ भने मेरो आत्मकथा बुझ्ने प्रकारको होस्, यूवा यूवतीहरुलाई प्रोत्साहना पनि मिलोस् । उक्त बायोग्राफी पुस्तकमा मेरो जीवन छ ।’
उनले आफ्नो बायोग्राफी पुस्तकमा जन्मदेखी संर्धषका दिन, चलचित्र यात्रा, बैबाहिक यात्रा, राजनीतिक यात्राको सुरुवातसम्म अटाइने बताइन ।
उनले अगाडी थप्दै भनिन्, ‘म मेरो बायोग्राफीबाट तपाई जुन सुकै ब्याक ग्राउण्डबाट आउनुहोस् यदी इच्छा शक्ति छ भने तपाईले जस्तो सुकै सफलता पनि प्राप्त गर्न सक्नु हुन्छ भन्ने सन्देश दिन चाहन्छु ।’
झण्डै १० महिनादेखी डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा सक्रिय करिश्मा मानन्धर झण्डै ३ दशकदेखी नेपाली चलचित्रमा सक्रिय छिन् । चाँडै नयाँ चलचित्र निर्माण गरेर आफ्नै छोरीलाई हिरोइन बनाउन लागेकी करिश्माले आफ्नो आत्मकथाको नाम भने अहिले नै सोचि नसकेको बताएकी छिन् ।