चर्चित गीत ‘तिरिरि मुरली बज्यो वनैमा’ बोलका गायक पन्नाकाजी शाक्यको वुधबार विहान ८५ बर्षको उमेरमा निधन भएको छ । वि.सं. १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजीले गाएका गीतहरु मध्ये ‘तिरिरि मुरली बज्यो वनैमा’ बोलको गीत सर्वाधिक चर्चित बनेको थियो । योसँगै उनले दर्जन बढी गीतमा आवाज दिएका छन् भने ३ सय भन्दा बढी गीतहरुमा संगीत पनि भरेका छन् । गायक पन्नाकाजी ४ छोरा र एक छोरीसहित काठमाडौंको ओमबहालमा बस्दै आइरहेका थिए । तर, गत वर्षको भूकम्पले ओमबहालस्थित घर भत्किएपछि उनी पछिल्लो समय सपरिवार ताहाचलमा बस्दै आएका थिए ।
सर्वोत्तम गायक पदक, २०२३ सालमा राजा महेन्द्रबाट गोरखा दक्षिण बाहु, शुभराज्य विशेष पदक, रेडियो नेपाल सेवा पदक, विरेन्द्र ऐश्वर्या पदकबाट समेत विभुषित भइसकेका उनी नातिकाजी सम्मानबाट सम्मानित पहिलो गायक समेत हुन । रेडियो नेपालमा ३२ बर्ष जागिरे जीवन विताएका उनले ‘किन–किन तिम्रो तस्बिर‘ र ‘लोलाएका ती तिम्रा आँखा‘ को पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत थुपै सिर्जना पनि दिएका छन् । उनको बुधबारै टेकु दोभानमा दाहसंस्कार गरिएको छ ।