माघ १ गते शनिबार लण्डनको नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झण्डिएको अबस्थामा मृत फेला परेका चर्चित र्याप गायक यमबुद्ध (अनिल अधिकारी) को पशुपति आर्यघाटमा आज साँझ अन्त्येष्टि गरिएको छ । परिवारले नेपाल ल्याउने इच्छा राखेपछि शनिबार दिउँसो इत्तेहाद एयरबाट गायक यमुबद्धको शव नेपाल ल्याइएको थियो । यमबुद्धको शवलाई त्रिभुवन विमानस्थलबाट सिधै कमलादीको प्रज्ञा प्रतिष्ठानमा श्रदाञ्जलीका लागि राखिएको थियो । यमबुद्धलाई श्रदाञ्जली दिनका लागि प्रज्ञा प्रतिष्ठानमा नेपालका चर्चित गायक-गायिकादेखी कलाकार, राजनितीज्ञहरुको बाक्लो उपस्थिती रहेको थियो ।
त्यस्तै, पुशपति आर्यघाटमा यमबुद्धका प्रशंसकहरुको भिडलाई प्रहरीले समेत सम्हाल्न मुश्किल परेको थियो ।
‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ लगायत एल्बम निकालिसकेका यमुबद्धले चाँडै ‘खतरा’ नामक एल्बम निकाल्ने तयारीमा थिए । हिजो मात्र एल्बमका निर्माताद्धय नास्टी र एलेक्सले ‘खतरा’ एल्बममा समोबश ‘ताज’ बोलको अडियो गीत युटयुवमा सार्वजनिक गरेका छन् । युवापुस्ताका दर्शक, स्रोता माझ लोकप्रिय यमबुद्धको जन्म धनकुटा जिल्लाको लेगुवामा सन् १९८७, ३० मे मा भएको थियो । २००७ देखी गायनमा सक्रिय यमबुद्धले सयौं र्याप गीतहरुसँग दर्जन बढी नेपाली चलचित्रका गीतहरुमा पनि आवाज मिसाइसकेका छन् । गीत लेखनमा पनि उतिक्कै सक्रिय यमुबद्धले गाएका यो प्रशंग, दिदी, फुटपाथ मेरो घर, तिमी मलाई, नरुनुँ तिमी, पागलपन लगायतका सयौं र्याप गीतहरु चर्चित छन् ।