आकाश अधिकारीले निर्माण र निर्देशन गरेको चलचित्र “के म तिम्रो होइन र” बाट नेपाली चलचित्रमा डेव्यू गरेकी मरिष्का पोख्रेलको नयाँ चलचित्र “चपली हाईट २” भदौको ३ गतेबाट प्रदर्शनमा आउँदैछ । “के म तिम्रो होइन र” बाट दर्शकहरुको रोजाईमा परेकी मरिष्का अहिले “चपली हाईट २” को प्रमोशनमा दौडिरहेकी छिन् । “चपली हाईट २” बाट निकै आश बोकेकी मरिष्का यो चलचित्र सफल हुनेमा ढुक्क छिन् । उनै मरिष्कासँग सिनेखबरकर्मी मनिष अन्जानले गर्नुभएको संक्षिप्त कुराकानी :-
१. तपाईको नजरमा चलचित्र “चपली हाईट २” कस्तो चलचित्र हो ?
यूथहरुको विषयमा बनेको इन्ट्रेस्टिङ फिल्म हो “चपली हाईट २” । यूथहरुको धेरै कुराहरु आफ्नो परिवारहरुलाई पनि थाहा हुँदैन र कति कुराहरु आफुले सही गरिरहेको जस्तो लाग्छ तर अर्काको नजरमा गलत भइरहेको हुन्छ । यूथहरुले आफैलाई थाहा नभइकन धेरै गल्तीहरु गरिरहेका छन् । त्यो कुरामा अलि बढि फोकस गरेर निर्माण गरिएको चलचित्र हो ।
२. तपाईको पहिलो चलचित्रले औषत व्यापार गर्यो भन्ने छ । यो चलचित्रबाट चाहिँ कतिको आश गर्नु भएको छ ?
मेरो यो नै आश छ भनेर त भन्न सक्दिन । मैले पहिलो चलचित्र गर्दा पनि त्यही भन्ने गर्थे कि दर्शकहरुमै भर पर्छ । हामीले सबै चलचित्र मेहेनत गरेर बनाउने हो तर चलचित्र कस्तो बनेको छ भन्ने कुरा दर्शकहरुमाझ गएपछि मात्र थाहा हुन्छ ।
३. “चपली हाईट २” पहिलो भागबाट प्रभावित छ वा छैन ?
छैन । यो फरक विषय वस्तुमा तयार भएको चलचित्र हो । “चपली हाईट” को र यसको कथा विल्कुलै फरक छ ।
४. चलचित्रको प्रमोशनमा आयुष्मान देशराज श्रेष्ठ र परमिता राना अलि बढी हिँडेको पाइँन्छ । तपाईको चाहिँ अलि कम सक्रियता देखिएको हो प्रमोशनमा ?
होइन । मैले चलचित्र यूनिटले भनेको ठाँउमा अन्तर्वार्ता देखी प्रमोशनमा दौडिरहेको छु । मलाई निर्माणपक्षले जहाँ खटाउँछ म त्यही जाने हो । होला आयुष्मान र परमिताको पहिलो चलचित्र भएका कारण पनि उहाँहरुलाई अलि बढी प्रमोशनमा दौडाइएको होला तर मेरो सक्रियता कम भन्ने चाहिँ पक्कै होइन ।
५. आयुष्मान र परमिताको प्रेम सम्बन्धका कारण तपाई चलचित्रको प्रमोशनबाट केही ओझेल त पर्नु भएको होइन ?
होइन होइन । त्यस्तो होइन । मैले चलचित्र चपली हाईट २ को प्रमोशनमा चाहेँ जति समय दिएको छु । आयुष्मान र परमिता रिलेशनसिपमा भएका कारण म चलचित्रको प्रमोशनबाट ओझेलमा परेको होइन । उनीहरुको पहिलो चलचित्र भएका कारण पनि अलि बढी सक्रियता आयुष्मान र परमिताको चाहिँ हुन सक्छ ।
६. चलचित्रले पिजी सर्टिफिकेट पायो । १६ बर्षभन्दा मुनीकाले हेर्न नमिल्ने दृश्यहरु रै’छन् है फिल्म भित्र ?
१६ बर्षभन्दा मुनिकाले अभिभावकको साथमा चलचित्र हेर्नु पर्ने मात्र भएको हो । चलचित्र १६ बर्षभन्दा मुनिकाले हेर्नै नमिल्ने चाहिँ बनेको छैन ।
७. चलचित्र “चपली हाईट २” को सफलता वा असफलताले तपाईको करियरमा कुनै असर गर्छ ?
जुन सुकै काम गरेपनि प्रत्यक्ष वा अपत्यक्ष रुपमा असर गर्ने वा मद्त हुने भन्ने हुन्छ नै । मलाई त पुरा विश्वास छ फिल्म हिट हुन्छ । फिल्ममा म भएका कारण होइन कि चलचित्र फरक विषयवस्तुमा बनेको छ । अहिले जसरी दर्शकहरु चलचित्र “चपली हाईट २” को प्रतिक्षा गरिरहनु भएको छ त्यसबाट चलचित्र सफल हुनेमा दुई मत नै छैन ।
८. “चपली हाईट २” सँग अर्को चलचित्र पनि एकसाथ प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई कस्तो असर गर्ला ?
हेर्नुस् अहिले एउटा मितिमा एक मात्र चलचित्र प्रदर्शनमा आउने अबस्था छैन । त्यसो हुँदा एकै मितिमा प्रदर्शनमा आउने दुवै चलचित्रलाई त घाटा पक्कै छ । तर कुन चलचित्र हेर्ने भन्ने कुरा त्यो दर्शकहरुको रोजाईको कुरा हो । “चपली हाईट २” सँग प्रदर्शनमा आउन लागेको अर्को चलचित्र “वीर विक्रम” मा पनि राम्रा कलाकारहरु हुनुहुन्छ त्यसैले दुवै चलचित्र राम्रा भएका कारण दर्शकहरुले मन पराउनु हुन्छ भन्ने लाग्छ । सायद खासै असर त दुवै चलचित्रलाई नहोला । दुवै चलचित्र हेर्ने दर्शकहरु फरक फरक हुनुहुन्छ । कसैलाई “वीर विक्रम” राम्रो लाग्न सक्छ कसैलाई “चपली हाईट २” ।
९. तपाईले चलचित्र “के म तिम्रो होइन र” पछि “चपली हाईट २” मा काम गर्नु भयो । यो चलचित्र पछि चाहिँ तपाई अरु चलचित्रमा व्यस्त हुनुहुन्छ भन्ने खबर बाहिर आएको छैन नी । अब कुनै चलचित्रमा काम गर्दै हुनुहुन्छ ?
मेरो यो बर्ष २ चलचित्र प्रदर्शनमा आएँ । बैंशाखमा “के म तिम्रो होइन र” र भदौमा “चपली हाईट २” । अहिले म नयाँ चलचित्रको स्क्रिप्ट अध्ययन गरिरहेको छु । सायद यो बर्ष मेरो “चपली हाईट २” पछि अरु चलचित्र प्रदर्शनमा आउँदैन ।
१०. “चपली हाईट २” हेर्न चाहिँ हलसम्म किन जाने ?
पहिलो कुरा निर्देशक दिपेन्द्र के. खनाल, जसले गएको बर्ष सुपरहिट फिल्म पशुपतिप्रसाद निर्देशन गर्नु भएको थियो । जुन चलचित्रलाई दर्शकहरुले निकै रुचाउनु भएको थियो । दिपेन्द्र के. खनालले “चपली हाईट २” कस्तो बनाउनु भयो भन्ने हेर्नका लागि पनि चलचित्र हेर्न जानु पर्छ जस्तो लाग्छ । त्यस्तै चलचित्रमा नयाँ अनुहारसँगै मेरो पनि कामलाई हेर्न हलसम्म दर्शकहरु जानु हुन्छ भन्नेमा ढुक्क छु । फरक विषय वस्तुमा निर्माण भएका कारण “चपली हाईट २” सबैलाई राम्रो लाग्न सक्छ ।