पहिलो पटक चलचित्र ‘होस्टेल रिर्टन्स’ मा ‘रामेश्वर यादव’ को भूमिकामा देखिएका कलाकार नाजिर हुसेनको चर्चाले नेपाली सिनेवृत खुबै तातेको थियो । उनको अभिनयको तारिफ चलचित्र हेरेपछि हलबाट निस्किएका प्रत्येक दर्शकले गरेका थिए । थ्रिएटरमा दमदार अभिनय प्रस्तुत गरिरहेका नाजिरलाई डेव्यू चलचित्र ‘होस्टेल रिर्टन्स’ ले नेपाली चलचित्र बजारमा व्यस्त कलाकार बनायो । त्यसपछि उनले ‘वीर विक्रम’ लगायतका केही चलचित्रका सहायक भूमिकामा काम गरे । उनको अभिनय र फरक गेटअपलाई दर्शकहरुले एकपछि अर्को गर्दै रुचाउँदै गए । लगातार आफ्नो भूमिकालाई दर्शकहरुले रुचाउँदै गएपछि उनलाई चलचित्र ‘गाँठो’ मा लीड नायक बनाइयो । सहायक कलाकारको रुपमा राम्रै चर्चा पाएका नाजिरले ‘गाँठो’ मा मुख्य भूमिका निर्वाहा गरे । त्यसपछि उनको पारिश्रमिकले पनि आकाश छोयो । बजारमा हल्ला चल्यो कि एक चलचित्रका लागि नाजिरले ५ लाख पारिश्रमिक मागे । यो हल्ला चलचित्र ‘गाँठो’ रिलिज हुनुभन्दा अगाडीको हो ।
चलचित्र ‘गाँठो’ ले मुख्य भूमिकामा पनि आफुलाई दर्शकहरुले रुचाउनेमा उनी पुर्ण विश्वस्त थिए तर हलमा लागेको दिनबाटै उनको चर्चा होइन आलोचना हुन थाल्यो । नाजिरले एक चलचित्रका लागि ५ लाख पारिश्रमिक मागेको हल्ला चलिरहेको बखत चलचित्र ‘गाँठो’ ले व्यबसायिक रुपमा नराम्रैसँग पछारेपछि निर्माताहरुले उनलाई लाख दिन पनि हिच्किचाउन थाले । त्यसपछि नेपाली सिनेवृतमा हल्ला चल्यो कि नाजिरलाई सहायक भूमिका नै ठिक छ । चलचित्र ‘गाँठो’ पछि उनले अन्य कुनै चलचित्र साइन गरेका थिएनन् तर केही हप्ता अगाडी उनी साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्र ‘तिमीसँग’ मा फाइनल भए । अहिले यो चलचित्रको छायाँकन भइरहेको छ । उनले यो चलचित्रका लागि डेढ लाखको आसपासमा पारिश्रमिक लिएको खबर छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, चलचित्र ‘तिमीसँग’ मा नाजिरले मुख्य भूमिका निर्वाहा गर्दैछन् ।
‘तिमीसँग’ को छायाँकनमा व्यस्त नाजिर हालैमा एक नयाँ चलचित्रमा पनि फाइनल भएका छन् । त्यो चलचित्र हो ‘राज्जा रानी’ । यो चलचित्रमा नाजिरले नायिका केकी अधिकारीसँग पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्दैछन् । यो चलचित्रमा नाजिरको मुख्य भूमिका रहेको छ । यो चलचित्रमा उनले कति पारिश्रमिक लिए त्यो खबर भने बाहिर आएको छैन ।
प्रत्येक चलचित्रमा उनको अभिनयलाई दर्शकहरुले रुचाएपनि लीड नायक नै बनाएर पर्दामा उतार्नु चाहिँ अहिले निर्माताहरुलाई ढुंगा चपाउनु जस्तो बनेको छ । किनकी चलचित्र ‘गाँठो’ ले यसलाई झन स्पष्ट पारेको थियो । अब यो त कि ‘तिमीसँग’ नभएर ‘राज्जा रानी’ प्रदर्शनमा आएपछि मात्र थाहा हुनेछ कि नाजिरलाई लीड नायकमा राखेर पर्दामा उतार्नु भोलीका दिनमा सहज हुनेछ वा छैन । तर, लीड नायक बनेर पर्दामा आउँदा बजारमा चल्ने नाजिरको महँगो पारिश्रमिकको हल्लाले चाहिँ कतै उनलाई नै अप्ठ्यारोमा त परिरहेको छैन ? अब यो त उनैलाई थाहा होला ।