नेपाली दर्शकका लागि नायिका निशा अधिकारी नयाँ नाम होइन । बल्कबष्टर चलचित्र देखी निर्मातालाई कंगाल बनाएका चलचित्रहरु पनि नायिका निशाको नाममा दर्ता छन् । ‘मिसन पैसा’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका निशा अधिकारी भिजे तथा आरजे पनि हुन । नेपाली रजतपटमा भित्रिनुभन्दा अगाडी उनले टेलिभिजन र रेडियोहरुमा काम गरिसकेकी छिन् । सन् २०१३ मे १ का दिन विश्वकै अग्लो शिखर सगरमाथाको आरोहण पनि गरिसकेकी निशा चाँडै निर्मात्री पनि बन्दैछिन् । ‘झ्यानाकुटी’ नामक चलचित्र निर्माण गर्न लागेकी निशा पछिल्लो समय भने आफुलाई सस्तो नायिकाको रुपमा उभ्याएकी छिन् । यो भन्नुको अर्थ उनले पारिश्रमिक घटाएर सस्तो बनेकी हुन भन्न खोजिएको होइन ।
केही बर्षदेखी उनको व्यस्तता हेर्दा यस्तो लाग्छ उनी संख्या बढाउनका लागि एकपछि अर्को चलचित्रमा हात हालिरहेकी छिन् । हुनत, निशाका कारण चलचित्र सफल वा असफल हुने होइनन् तर केही बर्षदेखी सस्तो लोकप्रियताको पछाडी दौडिरहेका कारण अहिले उनलाई आफ्नै स्थान जोगाउन पनि हम्मेहम्मे परिरहेको छ ।
आफुसँगका प्राय नायिकाहरु पलायन भइरहेको अबस्थामा निशा भने आफुलाई सक्रिय राख्नका लागि पनि उत्कृष्ट कथावस्तु, दमदार भूमिका र राम्रो व्यानर भन्दा पनि दुई दिन भएपनि मिडियाको छत्रछायाँमा पर्नका लागि एकपछि अर्को चलचित्रमा अनुबन्धित भइरहेकी छिन् । यसले नेपाली सिनेवृतमा अहिलले एउटा राम्रै बहस जन्माएको छ निशा किन सस्तो बन्दैछिन् ?
कुरा गरौं सोमबार घोषणा गरिएको चलचित्र ‘रंगीन’ को । यो चलचित्रमा निशाको मुख्य भूमिका रहने निर्माण पक्षले उद्घोष गर्यो । उक्त चलचित्रको घोषणा सभामा निशा पनि सहभागी थिइन । तर, अनौठो त के थियो भने निर्देशक नै फाइनल नभएको चलचित्रमा निशाको ईन्ट्रीले उनलाई सस्तो बनाएको स्पष्ट देखिन्थ्यो । निर्देशक विनानै घोषणा गरिएको चलचित्रमा निशाले मुख्य भूमिका निर्वाहा गर्न लागेको खबरपछि त कार्यक्रम स्थलमा नै यही बहस चल्यो कि निशा किन आफुलाई सस्तो बनाउँदैछिन् ? अब यो त उनी भन्दा बाहेक अरु कसलाई नै पो थाहा होला र । तर, यसरी नै निशाको सक्रियता गुणस्तरमा भन्दा पनि संख्या बढाउनतर्फ लाग्यो भने चाहिँ बाँकी रहेको क्रेज पनि एकदिन चौपट नहोला बन्न सकिन्न् ।