पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले अभिनय गरेको चलचित्र ‘गाजलु’ यसै बर्ष प्रदर्शनमा आएको थियो । अनमोल केसीको अपोजिटमा देखिएकी सृष्टिले ‘गाजलु’ बाट राम्रै तारिफ पाइन् । सुन्दरता र अभिनयले सृष्टिलाई एक सफल अभिनेत्री पनि बनायो । ‘गाजलु’ पछि अन्य कुनै चलचित्रमा नदेखिएकी सृष्टि चाँडै ‘रोमियो एण्ड मुना’ नामक चलचित्रमा व्यस्त हुँदैछिन् भने त्यसपछि उनी ‘लाहुरे’ नामक चलचित्रलाई समय दिँदैछिन् । मिठो मुस्कान र सुन्दरताले सबैलाई मोहित बनाउने सृष्टि श्रेष्ठ र नायक सौगात मल्ल अहिले अफेयरमा रहेको कुरा सबैलाई थाहा छ । यो कुरा सौगात आफैले बारम्बार भनिरहेका छन् । तर, यो विषयमा अहिलेसम्म सृष्टिले भने मुख खोलेकी थिइनन् । मंगलबार भिमसेनगोलामा सञ्चालनमा आएको एक स्टोर उद्घाटन कार्यक्रममा देखिएकी सृष्टिले सौगातसँगको अफेयरको विषयमा मुख खोलिन् । उनले नायक सौगात मल्लले ‘भ्यालेन्टाइन विस’ गरेको बताउँदै भनिन्, ‘अहिले हामी एकअर्कालाई नजिकबाट बुझ्न खोजिरहेका छौ । हामी प्रेममा त छौ तर अझ नजिक हुन भने समय लाग्छ ।’
सौगातसँगको अफेयरको विषयमा खासै बोल्न नचाहेकी सृष्टिले एक अन्तर्वार्ताको क्रममा स्कुले जीवनमा आफुलाई देखेर केटाहरु नै डराउने गरेको पनि बताइन । उनले भनिन्, ‘म नेपालमा पढ्दा त मलाई कसैले हेर्दा पनि हेर्दैन थिए । मेरो हाईट देखेर नै केटाहरु डराउँथे ।’
बलीउड गीत ‘कभी जो बादल बर्से’ बोलको अनप्लग्ड भर्जनको म्युजिक भिडियोमा समेत देखिएकी सृष्टि म्युजिक भिडियोको लागि महँगी मोडलको रुपमा समेत चिनिन्छिन् । उनले हालसम्म करिब चारवटा म्युजिक भिडियोमा काम गरेकी छन्।