हिन्दी सिनेमाका चर्चित गायक कुमार सानु नेपाल आउने भएका छन् । २०१७, मे २६ मा होटल याक एण्ड यतिमा आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा आफ्नो प्रस्तुती दिनका लागि उनी नेपाल आउन लागेका हुन । कुमार सानुले २ घण्टा लामो आफ्नो प्रस्तुतीमा हिन्दी र नेपाली गीतहरुबाट स्टेज तताउने आयोजक संस्था मन्टेज इन्टरनेशनलका अध्यक्ष रोशन पराजुलीले जानकारी दिए । ‘कहोना प्यार हें’, ‘पर्देसी पर्देसी जना नहीँ’, ‘तेरी चुनरिया दिल ले गयी’, ‘एक लड्की को देखा तो’, ‘तेरे दर्द से दिल आबद रहा’, ‘दिल है के मानता नहीं’, ‘साजन’ लगायत झण्डै ३५ हजार गीतमा आवाज भरेका कुमार सानुले ४ सयभन्दा बढी नेपाली गीतहरुमा पनि स्वर दिएका छन् । नेपाली चलचित्रका सुपरहिट गीतहरु समेत गाइसकेका उनका ‘फूल भए जिन्दगी देउतालाई चढाई दिन्थे’, ‘पुरानो हुँदैन माया जुनी जुनीलाई पनि’, ‘के सन्देश बोकी ल्यायौं’, ‘म त अब रिसाउँछु बोल्दै बोल्दिन’ लगायतका सयौं नेपाली गीतहरु चर्चित छन् ।
‘कुमार सानु लाइभ इन कन्सर्ट’ मा नेपालका चर्चित गायक हिमाल सागर, कमेडियन जितु नेपाल लगायतका कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् । कुमार सानुको लाइभ कन्सर्टमा गायक हिमाल सागरले ‘यति धेरै माया मोह’, ‘आज पनि तिम्रो बाटो’, ‘तिम्रो रुप देखेर’, ‘माया कहिले मुस्कुराउने’ लगायतका गीतहरुबाट दर्शक झुमाउनेछन् ।