रंगमञ्च हुँदै नेपाली रजतपटमा भित्रिएका नायक हुन, कर्मा शाक्य । खासै सफल चलचित्र उनको नाममा दर्ता नभएपनि अभिनयको तारिफ भने उनको प्रत्येक चलचित्र हलमा लाग्दा हुने गर्छ । ‘सानो संसार’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गरेका कर्माले त्यसपछि दर्जन बढी नेपाली चलचित्रमा मुख्य भूमिका निर्वाहा गरे तर उनको करियरको टर्निंग प्वाइन्ट भने २०६९ सालमा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ बन्यो । ‘लुट’, ‘फर्स्ट लभ’ र ‘रेशम फिलिली’ बाहेक कर्माले आफ्नो करियर जोगाउने चलचित्र खासै भेट्न सकेका छैनन् । जसले गर्दा नेपाली सिनेवृतमा अहिले यो बहस चल्न सुरु भएको छ कि, ‘के अब कर्मालाई जोगाउने चलचित्र ‘लुट २’ नै बन्ला ?’ अब यो त ‘लुट २’ हलमा लागेपछि नै थाहा हुने कुरा भयो ।
तर, सोलो नायक बनेर पर्दामा आउँदा भने चाहिँ उनले सफलताको स्वादले करियर मिठ्याउन पाएका छैनन् । यसले उनलाई नेपाली चलचित्रमा व्यस्त नायक भन्दा पनि फुर्सदिलो बनाइराखेको छ । अब उनलाई पनि फागुन १३ गते रिलिज हुन लागेको चलचित्र ‘लुट २’ माथी नै भरोस छ किनकी अब यदी आफ्नो करियर कुनै चलचित्रले माथी उठाउन सक्छ भने त्यो ‘लुट २’ नै हो । तर, कर्माले चलचित्र ‘लुट २’ को प्रमोशनमा भने आफ्नो सक्रियता खासै देखाएका छैनन् । छायाँकन सुरु हुनु भन्दा अगाडी रिलिज भएको ‘लुट २’ को टीजर सार्वजनिक कार्यक्रम पश्चात उनलाई ‘लुट २’ को अन्य कार्यक्रमहरुमा देखिएको छैन नत मिडियाको अगाडी उनले चलचित्र ‘लुट २’ को विषयमा बोलेका नै छन् । यसले गाह्रोमा त कर्मा आफैलाई नै पार्ने हो तर मिडियामा आउन खासै नरुचाउने बानी अहिले कर्मा आफैलाई घातक बनिरहेको छ ।
कर्माको यस बर्ष ३ चलचित्र प्रदर्शनमा आइसकेका छन् । बर्षको सुरुवातमा चलचित्र ‘लुकामारी’ प्रदर्शन पाएको थियो भने त्यसपछि ‘भ्रम’ र ‘लभ साशा’ प्रदर्शनमा आयो तर यी दुवै चलचित्रले कर्माको करियरमा ईट्टा थप्ने काम गरेनन् । अब उनको यस बर्षका लागि अन्तिम चलचित्र ‘लुट २’ फागुन १३ मा रिलिज हुँदैछ ।