अमिताभ बच्चन, शाहरुख खान, जुही चावला, राजपाल यादव लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘भुतनाथ’ निर्देशन गरेका बलीउड निर्देशक विवेक शर्माले नेपाली चलचित्र ‘मेरो पैसा खोइ’ छोडेर भारत भागेका छन् । रोज राणा निर्माता रहेको यो चलचित्रलाई विवेक शर्माले निर्देशन गर्ने फाइनल भएको थियो । यतिसम्मकी विवेकले केही दिनसम्म चलचित्र ‘मेरो पैसा खोइ’ निर्देशन पनि गरेका थिए । तर, आफुले निर्देशन गरेको पाटो डिलिट गरेर उनी भारत भागेका छन् । अहिले रोज राणा आफैले यो चलचित्र निर्देशन गरिरहेका छन् । यसअघि रोजले विराज भट्ट स्टारर चलचित्र ‘जय परशुराम’ निर्देशन र निर्माण गरेका थिए । अहिले यो चलचित्रको भकुण्डेबेशीमा छायाँकन भइरहेको छ ।
यो चलचित्र चलचित्र विकास बोर्डमा विवेक शर्मा र रोज राणाको कम्पनीमा दर्ता छ । तर, निर्देशक शर्मा चलचित्र छोडेर भारत भागेपछि राणाले आफ्नो कम्पनी रेडान्स फिल्म प्रा.लि. मा यो चलचित्र दर्ता गरेका छन् । रोजका अनुसार, विवेक शर्माले चलचित्रका सबै फुटेज डिलिट गरेर भागेपछि अहिले चलचित्रको सुरुबाटै छायाँकन आरम्भ गरिएको छ । यतिसम्मकी रोजले विवेकलाई जुही चावला र राजपाल यादवलाई केमियोमा खेलाउनका लागि २५ लाख भारतीय रुपैयाँ समेत दिएका थिए । तर, विवेकले जुही र राजपाललाई चलचित्र ‘मेरो पैसा खोइ’ मा खेलाउन नसकेको पनि रोजले बताएका छन् ।
यो चलचित्रमा सौगात मल्ल, बर्षा राउत, छुल्ठिम गुरुङ, सागर तिवारी, सम्पन्न श्रेष्ठ, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहने यो चलचित्रमा बसन्त सापकोटाको संगीत रहेको छ ।