गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट म्यूजिकल लभस्टोरी चलचित्र ‘प्रेम गीत’को र्शिष गीत सापटी लिँदै निर्देशक सुदर्शन थापाले चलचित्र ‘म यस्तो गीत गाउँछु’ को छायाँकन आजबाट आरम्भ गरेका छन् । गएको बर्ष यो गीतले नेपाली बजार राम्रै पिटेको थियो । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहने यो चलचित्रको छायांकन काठमाण्डौको सानो भर्याङ स्थित एक घरबाट सुरु गरिएको छ । ४ दिन सोहि घरमा चलचित्रको छायांकन गरिनेछ । चलचित्रका कलाकार, प्राविधिक र निर्देशकले क्यामेरा पूजा गरेर चलचित्रको छायांकन सुरु गरिएको हो । सुदर्शनका अनुसार, चलचित्रको छायाँकन सेड्यूल ४० दिनको रहेको छ । चलचित्रमा पूजा र पलका अलवा सरोज खनाल, रुपा खनाल, प्रज्ज्वल सुजल गिरीको पनि चलचित्रमा मुख्य भूमिका रहनेछ ।
निर्देशक सुदर्शन थापाले चलचित्रको छायांकन काठमाण्डौदेखि सुरु गरेर पोखरा, मुस्ताङ, उपल्लो मुस्ताङ सम्म पुगेर सकिने जानकारी दिए । सुदर्शन थापा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा सुदर्शन थापाको लगानी छ । नायिका पूजा शर्मा यो चलचित्रको सह–निर्मात्री पनि हुन् ।
चलचित्रमा नायक पल शाह ‘सत्य’ पात्रको भूमिकामा देखिदैछन् भने पूजालाई ‘छायाँ’को भूमिकामा दर्शकले देख्न पाउनेछन् । सत्य र छायाँको प्रेम र आइपर्ने विभिन्न खालका समस्याको कथामा यो चलचित्र बन्नेछ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।