नयाँ बर्षको दिन नेपाली हलहरुमा एकसाथ प्रदर्शन सुरु गर्न लागेको लभस्टोरी चलचित्र ‘लभ लभ लभ’ को ट्रेलर सार्वजनिक भएको छ । गएको बर्ष ‘पशुपति प्रसाद’ निर्देशन गरेका दीपेन्द्र के. खनाल निर्देशित यो चलचित्रको ट्रेलरमा नायिका स्वस्तिमा खड्का र सुरज पाण्डेको मित्रता र प्रेमलाई देखाइएको छ । सुरज स्वस्तिमाको प्रेममा परेका छन् तर स्वस्तिमा सुरजलाई साथी मात्र मान्छिन्, ट्रेलरले यही बोल्छ । ‘घामपानी’, ‘राधे’ सँग एकसाथ हलमा लाग्न लागेको यो चलचित्रले आफ्नो प्रचार प्रसारलाई क्रमश आक्रामक बनाउँदै गएको छ ।
चलचित्रको मुख्य कलाकारमा स्वस्तिमा खड्का (बस्नेत), सुरज पाण्डे, देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायतका कलाकारहरु छन् । ‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा निर्वाह गरेकी स्वस्तिमा यसै चलचित्रबाट लिड रोलमा देखिएकी हुन भने सुरजको यो डेब्यु चलचित्र हो । अमृत पाण्डे र शर्मिला पाण्डेको लगानीमा ‘लभ लभ लभ’ तयार भएको हो । चलचित्रको सम्पूर्ण छायाँकन पोखरामा सकिएको हो । चलचित्रका सबै गीतमा सुरेश राईको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । चलचित्रलाई निरज कँडेलले खिचेका हुन ।