२०६७ सालमा प्रदर्शनमा आएको ‘लुट’ को सिक्वेल ‘लुट २’ महाशिवरात्रीलाई लक्षित गर्दै आजबाट प्रदर्शनमा आएको छ । सिंगलमा सय भन्दा बढी हल र काठमाडौंका क्युएफएक्स मल्टिप्लेक्समा ‘लुट २’ ले २२ शोसम्म पाएको छ । यतिसम्मकी अग्रिम बुकिङका लागि खोलिएको काठमाडौंका मल्टिप्लेक्सहरुमा शुक्रबार र शनिबारसम्मका लागि सबै टिकट बुक भइसकेको छ । निर्माण तथा वितरक कम्पनी पपकर्न पिक्चरको दाबीलाई आधार मान्ने हो भने ‘लुट २’ को पहिलो दिनको विजनेश १ करोडमाथी रहनेछ । शुक्रबार र शनिबार सार्वजनिक विदा भएका कारण पनि ‘लुट २’ को दुई दिने विजनेश आक्रामक हुनेमा दुई मत छैन ।
सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ मा पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बासकोटा, रोशन थापा, हर्कुलस बस्नेत र सुरज शाही ठकुरीको संगीत र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ ।
निर्माणपक्षका अनुसार, हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने चलचित्र ‘लुट २’ मा देखाउन खोजिएको छ ।