भारतीय नागरिक प्रसुन झुनझुनवालासँग विवाह गरेपछि घरजममै व्यस्त नायिका हर्षिका श्रेष्ठले नयाँ चलचित्रमार्फत कमब्याक गरेकी छिन् । विवाह गरेपछि उनले अभिनय गरेको चलचित्र ‘मेरी कुसुम’ को अडियो र ट्रेलर बिहिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल, नायिका करिश्मा मानन्धर, चलचित्रका मुख्य कलाकार, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, सेन्सर बोर्डका सदस्य सन्दिप सापकोटा लगायतले एकसाथ चलचित्रको अडियो विमोचन गरेका थिए । टंक बुढोथोकीको संगीत रहेको यो चलचित्रमा ‘म त बदलिए, मेरो भागको खुशी, सहिछाप गरि दिउँ कि’ लगायतका गीतहरु समावेश छन् ।
कार्यक्रममा बोल्दै चलचित्रका मुख्य कलाकार मोहन बोगटीले आफूलाई सानैदेखि कलाकारितामा लाग्ने चाहना भएको बताए । उनले भने–‘प्रेम, संगीत र एक्सनले भरिएको चलचित्र निर्माण गरेका छौ । दर्शकका लागि ‘मेरी कुसुम’ एउटा सम्पूर्ण प्याकेजले भरिएको चलचित्र हो ।’ उनले आफू अब निरन्तर चलचित्र क्षेत्रमा लाग्ने समेत सुनाए ।यस्तै, नायिका हर्षिका श्रेष्ठले चलचित्रको कथावस्तु आफूलाई अत्यन्तै मन परेकाले पनि यसमा काम गरेको सुनाइन् । उनले ‘मेरी कुसुम’ हेरेर दर्शकले एउटा प्रेम र एक्सनले भरिएको चलचित्रको स्वाद पाउने बताइन् ।
‘बिहेपछि गुमनाम जस्तै हुनु भएको छ नि ?’ भन्ने पत्रकारको प्रश्नमा हर्षिकाले भनिन्, ‘बिहेपछि नै मैले ‘मेरी कुसुम’ गरेकी हुँ । गुमनाम भएको छैन । विवाह गरेपछि ३/४ वटा चलचित्रबाट अफर आएका थिए तर कथावस्तु बलियो नलागेका कारण काम गरिन् । मेरी कुसुम नाममा जति सुन्दर छ त्यति नै बलियो छ कथावस्तु पनि । त्यसैले ‘मेरी कुसुम’ मा काम गरेकी हुँ ।’ उनले यो चलचित्रमा ‘कुसुम’ को भूमिका निर्वाह गरेकी छिन् ।
यो चलचित्रलाई एन.आर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा दिव्य सुवेदीको छायांकन छ । चलचित्रकी निर्मात्री सुनिता शर्मा बोगटी हुन् । यस्तै, रुद्र खनाल र रविन्द कुँवर यसका सह–निर्माता हुन् ।