‘मिस्टर नेपाल’ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक हुन, जीवन लुईटेल । ‘नसिब आफ्नो’ चलचित्रबाट नेपाली रंगीन दुनियाँमा आफ्नो पाइला अगाडी बढाएका जीवनलाई चकलेटी नायकको रुपमा दर्शकहरु चिन्दछन् । ‘नसिब आफ्नो’ पछि जीवनलाई व्यस्त नायक बनाउन भने चलचित्र ‘नाइँ नभन्नू ल’ सफल भयो । चलचित्र ‘नाई नभन्नू ल’ पछि जीवनले आफ्नो करियर पछाडी फर्किएर कहिले हेर्नु नै परेन । यतिसम्मकी एकलौटी बजार खाँदै आएका नायक आर्यन सिग्देल समेत जीवनको इन्ट्रीपछि धर्मराएको थियो । बजारमा यतिसम्मको हल्ला चलेको थियो कि अब यदी कसैले आर्यनलाई पाखा लगाउन सक्छ भने ति जीवन लुईटेल हुन । तर, केही बर्षयता न जीवनले बजार पिटेका छन् न त आर्यनले नै । नेपाली चलचित्रमा नयाँ अनुहारहरुको आगमनसँगै अहिले आर्यन र जीवन जस्ता चकलेटी अनुहारहरुको अबस्था दयनीय बन्दै गएको छ ।
आज हामी कुरा गर्दैछौं नायक जीवन लुईटेलको । जीवनले झण्डै १० बर्ष विताइसकेका छन् नेपाली रजतपटमा । ५ लाखसम्म पारिश्रमिक लिएको खबरले पनि एक समय खुबै चर्चामा आएका जीवनलाई अहिले भने आफ्नै स्थान जोगाउन पनि मश्किल परिरहेको छ । कमजोर कथावस्तु र दर्शकहरुलाई नै दिकदार लाग्ने भूमिकामा बारम्बार प्रस्तुत भइरहनुले अहिले जीवनको स्टारडम सोचेभन्दा पनि कमजोर बन्दै गएको छ । कुनै दिन जीवनका चलचित्र भनेपछि सिनेमा हलहरुमा भिड लाग्ने दर्शकहरु अहिले उनका चलचित्र हलमा लागेको र उत्रिएको समेत पत्तो पाउँदैनन् । कारण एउटै छ, जस्तो पायो त्यस्तै चलचित्रमा काम गर्नु । आफुलाई व्यस्त बनाउनका लागि जसरी जीवन एकपछि अर्को चलचित्रमा काम गर्दैछन् त्यसले उनी आफैलाई नै कमजोर बनाइरहेको छ ।
यस बर्षमात्र उनका तीन चलचित्र हलमा लागेका थिए । चलचित्र ‘राधा’ ले ठिकठाक विजनेश गरेपनि ‘सुब्बा साब’ र गएको महिना हलमा लागेको चलचित्र ‘लेक साइड’ ले भने जीवनलाई खुसीको मुस्कान समेत दिएन । लगातार आफु अभिनित चलचित्रहरु फल्पको सूचीमा दर्ता हुन थालेपछि जीवनले अमेरिकाको बाटो रोजेको खबरले पनि यति बेला खुबै तातिरहेको छ नेपाली गसिप बजार । तर, सपरिवार अमेरिकामा रहेपनि उनी भने नेपाली चलचित्रमा नै सक्रिय देखिन्छन् । चाँडै आफ्नो होम प्रोडक्शनबाट चलचित्र निर्माण गर्न लागेका जीवनको हातमा अहिले कुनै पनि चलचित्र नभएको स्रोत बताउँछ ।
जीवनले दर्शकहरुलाई केही बर्षयता दमदार चलचित्र पस्कन नसक्नु पनि उनलाई निर्माताहरुले आफ्नो चलचित्रमा नलिनुको मुख्य कारण हो । अहिले जीवनलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरुले ठूलै जोखिम उठाउनु पर्ने हुन्छ ।
केही बर्ष अगाडीसम्म बर्षमा झण्डै आधा दर्जन चलचित्र हलमा लाग्ने जीवनका अहिले भने त्यसमा धेरै नै कमी हुँदै आएको छ । अहिले उनी संख्या बढाउन भन्दा पनि गुणस्तरिय चलचित्र कसरी गर्न सकिन्छ त्यसमा नै दिमाग खियाइरहेका छन् । अब सायद यो कुरा जीवन आफैलाई पनि महशुस भएको हुन सक्छ, चलचित्र धेरै खेलेर हुँदो रहनेछ राम्रो चलचित्रमा काम गर्दा मात्र आफ्नो स्टारडम जोगाउन सकिन्छ ।