हिजो शुक्रबारबाट सयभन्दा बढी हलहरुबाट एकसाथ प्रदर्शन आरम्भ गरेको यस बर्षको प्रतिक्षित चलचित्र ‘लुट २’ ले पहिलो दिन बम्पर ओपनिङ गरेको छ । महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएको ‘लुट २’ ले प्रदर्शनको पहिलो दिन सिंगल र मल्टिप्लेक्स हलहरुमा हाउसफूल दर्शक भित्राएको छ । त्यस्तै, दोस्रो दिन शनिबार पनि सिंगल र मल्टिप्लेक्स हलहरुमा विहानको शो हाउसफूल रहेको वितरक तथा निर्माण कम्पनी पपकर्न पिक्चरले जानकारी दिएको छ । राजधानी भित्र र बाहिरका सिंगल र मल्टिप्लेक्स हल गरि चलचित्र ‘लुट २’ ले पहिलो दिन १ करोड ५२ लाख ग्रस आम्दानी गरेको छ । यो व्यापार आज शनिबार झन बढ्नेमा निर्माणपक्ष ढुक्क छ । हिजो शुक्रबार महाशिवरात्रीको सार्वजनिक विदा र आज शनिबार भएका कारण चलचित्र ‘लुट २’ ले दुई दिनमा साढे २ करोडमाथीको विजनेश गर्ने लगभग पक्का छ । विदेश प्रदर्शन राइट्सबाटै लगानी सुरक्षित गरिसकेको यो चलचित्रले अब गर्ने कमाई सिधै निर्माताको गल्तीमा नाफा स्वरुप जानेछ ।
सौगात मल्ल, कर्म, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, कामेश्वर चौरसिया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘लुट २’ को कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको हो । माधव वाग्ले र नरेन्द्र महर्जनको लगानीमा निर्माण भएको चलचित्र ‘लुट २’ मा पुरुषोत्तम प्रधानको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बासकोटा, रोशन थापा, हर्कुलस बस्नेत र सुरज शाही ठकुरीको संगीत र राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन रहेको छ ।
निर्माणपक्षका अनुसार, हाकु कालेले बैंक लुटेर धोका दिएपछि नरे, गोफ्ले, पाण्डे र खत्री लगायतले कसरी हाकु कालेलाई दुख दिन्छन् भन्ने चलचित्र ‘लुट २’ मा देखाउन खोजिएको छ ।