निखिल उप्रेतीका प्रत्येक चलचित्रहरु दर्शकहरुका लागि प्रतिक्षित बन्ने गर्छन । एक्सन चलचित्रबाट दर्शकहरुलाई फरक स्वाद पस्किदै आएका निखिलको यस बर्षका लागि पहिलो चलचित्र ‘किंग’ पुष २८ गते हलमा लागेको थियो । यो चलचित्रले दर्शकहरुलाई निराश मात्र बनायो । धेरैले ‘किंग’ मा निखिलको कमजोर भूमिकालाई लिएर आलोचना गरे । तर, यति बेला दर्शकहरुको नजर यस बर्षका लागि निखिलको दोस्रो चलचित्र ‘निर्भय’ माथी छ । चलचित्रका गीत, संगीतहरुले बजार पिटिरहेको अबस्थामा ‘निर्भय’ माथी निखिललाई पनि ठूलै आश जागेको छ । किनकी ‘किंग’ ले विच्किएका दर्शकहरु ‘निर्भय’ ले हलसम्म तान्न सके मात्र पनि निखिलका लागि यस बर्ष उपलब्धिमुलक रहनेछ । र, यस बर्षको सफल नायकको रुपमा उभ्याउन पनि निखिलका लागि चलचित्र ‘निर्भय’ जसरी पनि व्यबसायिक हिसाबले सफल हुन आबश्यक छ ।
यो चलचित्रमा निखिल प्रहरीको भूमिकामा छन् भने नीता ढुंगानाले निखिलकी श्रीमतीको रोल प्ले गरेकी छिन् । पहिलो पटक नायिका नीता ढुंगानाले निखिलसँग एकसाथ स्क्रिन शेयर गरेकी हुन । पहिलो पटक ठूलो पर्दामा एकसाथ देखिन लागेका निखिल र नीताको जोडी ‘निर्भय’ मा जम्छ वा जम्दैन त्यो कुर्न पनि चलचित्रको रिलिज डेट चैत ११ गते नै पर्खनु पर्ला ।
मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन । चलचित्र ‘निर्भय’ मा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । चलचित्रमा निखिल र नीताका अलवा शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।