अन्जान दाहाल ।
सुबिन भट्टराईद्धारा लिखित चर्चित पुस्तक ‘समर लभ’ माथी चलचित्र निर्माण हुने कुरा झण्डै २ बर्षदेखी चलिरहेको थियो । अन्ततः गएको आइतबार यसको औपचारिक निर्माण घोषणा गरियो । यो चलचित्र छायाँकनमा जान नसक्नुको एउटै कारण थियो, कथावस्तु अनुसार कलाकार नभेटिनु । पुस्तकका ‘अतित’ र ‘साया’ खोज्नमात्र निर्माणपक्षले २ बर्ष लगायो । योबीचमा निर्देशक-निर्देशक बीच नै झगडा भएको खबर समेत बाहिरियो । सुरुमा हल्ला यो चलेको थियो कि चलचित्र ‘समर लभ’ लाई विकास आचार्यले निर्माण गर्दैछन् । यतिसम्मकी ‘समर लभ’ को कथामा ‘नाई नभन्नू ल ५’ को नाम राखेर चलचित्र निर्माण गर्ने समेत फाइनल भएको थियो । तर, अहिले आएर ‘समर लभ’ लाई नै चलचित्रको नाम दिइएको छ । केही महिना अगाडी सिनेखबर डटकमले “समर लभ” नबन्नुमा के रै’छ त बास्तविक कारण ? शिर्षकमा एक समाचार प्रकाशन गरेको थियो । यो समाचारले राम्रै तहल्का पिट्यो । उक्त समाचारमा भनिएको थियो कि ‘नाई नभन्नू ल ३’ फेम निर्देशक मुस्कान ढकाल र ‘नाई नभन्नू ल’ फेम निर्देशक विकासराज आचार्यबीच चलचित्र ‘समर लभ’ लाई लिएर मनमुटाब भएको छ र यस कारण नै ‘समर लभ’ निर्माण हुन ढिलाई भएको हो ।
सुरुमा मुस्कानलाई ‘समर लभ’ निर्देशन गर्न दिने औपचारिक घोषणा गरेका निर्देशक आचार्यले अन्तिममा आफैले यो चलचित्र निर्देशक गर्ने मनस्थिती बनाएपछि उनको मुस्कानसँग मनमुटाब सुरु भएको थियो । विकास आचार्यले चलचित्र ‘समर लभ’ का लागि मुख्य पात्र ‘साया’ नभेटिएको बहाना बनाउँदै यसभन्दा पहिला आफ्नै निर्देशनमा चलचित्र ‘निराञ्जना’ बनाउने सोच बनाए । र, ‘निराञ्जना’ रिलिज भएपछि मात्र ‘समर लभ’ माथी चलचित्र निर्माण गर्ने उनको तयारी थियो । तर, त्यसपछि के-के भयो त्यो कि विकास आचार्यलाई थाहा होला कि मुस्कान ढकाललाई ।
आइतबार चलचित्र ‘समर लभ’ को निर्माण घोषणा कार्यक्रममा विकास आचार्य उपस्थित नहुनुले धेरैलाई अचम्ममा पार्यो । यतिसम्मकी चलचित्रको पोष्टरमा समेत विकास आचार्यको नाम अटेको थिएन ।
‘आखिर किन त ?’ यो प्रश्न पत्रकारले सोधे निर्देशक मुस्कान ढकाललाई र उनले उत्तर दिँदै भने, ‘सुरुमा ‘समर लभ’ को कथामा ‘नाई नभन्नू ल ५’ निर्माण हुने कुरा थियो । हामीले ‘समर लभ’ र ‘निराञ्जना’ को स्क्रिप्ट र गीतको काम एकसाथ गर्यौ । ‘समर लभ’ का लागि केटा खोजिसकेका थियौ भने केटी खोज्ने काम जारी थियो । ‘समर लभ’ का लागि ‘साया’ खोज्दै जाँदा विकास दाईको मनमा के आयो त्यो मलाई थाहा छैन । उहाँले अर्को बर्ष ‘समर लभ’ गर्यौ र अहिले तिमी ‘निराञ्जना’ गर भनेर भन्नुभयो । मेरो निर्णय चाहिँ के थियो भने म ‘समर लभ’ नै गर्छु । अनि मैले भने तपाई ‘निराञ्जना’ गर्नुस् म ‘समर लभ’ गर्छु । उहाँले तिमी ‘समर लभ’ गर्न चाहन्छौ भने गर भनेर अनुमती दिनुभयो र मैले आफ्नै ब्यानरमा ‘समर लभ’ निर्देशन गर्न लागेको हुँ । तर, हामीबीच झगडा भएको भन्ने खबर चाहिँ गलत हो ।’
मुस्कानको यो कुराबाट के स्पष्ट हुन्छ भने विकास आचार्य मुस्कान ढकाललाई ‘निराञ्जना’ निर्देशन गर्न लगाएर आफु ‘समर लभ’ निर्देशन गर्ने सोचमा थिए तर मुस्कानले ‘समर लभ’ नै निर्देशन गर्ने ढिप्पी कसेपछि विकासले ‘समर लभ’ बाट हात झिकेका हुन । आइतबार चलचित्र ‘समर लभ’ को औपचारिक निर्माण घोषणामा मुस्कानले विकास आचार्यलाई पनि निमन्त्रणा गरेका थिए तर उनी पुगेनन् । यसले के भन्छ भने मुस्कानले विकास आचार्यसँग झगडा भएको छैन भनेर जति नै कुरा मोडेपनि यी दुईको सम्बन्ध अहिले पानीबाराबारको अबस्थामा रहेको स्पष्ट हुन्छ ।
मुस्कानले निर्देशन गर्ने चलचित्र ‘समर लभ’ मा ‘अतित’ को भूमिकामा आशिष पिया र ‘साया’ को भूमिकामा रेवती क्षेत्रीले निर्वाह गर्दैछन् ।