नायिका नम्रता श्रेष्ठ र नायक आर्यन सिग्देललाई दर्शकहरु पर्दामा हरपल हेर्न चाहन्छन् । लभस्टोरी चलचित्रमा यदी दर्शकहरुले कुनै जोडीलाई बारम्बार हेर्न चाहन्छन् भने त्यो आर्यन र नम्रताको जोडी नै हुन । यो जोडीलाई दर्शकहरुले जति चलचित्रमा हेरेका छन् ति चलचित्रहरु सुपरहिट भएका छन् वा छैनन् त्यो सायद हामीले बताइराख्नु पर्दैन् । ‘नोभेम्बर रेन’, ‘होमवर्क’, ‘क्लासिक’, ‘मेरो एउटा साथी छ’ जस्ता चलचित्रमा एकसाथ स्क्रिन शेयर गरेका आर्यन र नम्रतको जोडी लभस्टोरी चलचित्रमा सबैभन्दा हिट छ । चलचित्रमा मात्र होइन झण्डै दर्जन बढी म्यूजिक भिडियोमा समेत यो जोडीलाई दर्शकहरुले खुबै रुचाएका छन् ।
गएको बर्ष रिलिज भएको चलचित्र ‘क्लासिक’ पछि झन चर्चामा आएको यो जोडीलाई अब फेरी कहिले एकसाथ ठूलो पर्दामा हेर्न पाइन्छ, त्यसको प्रतिक्षा दर्शकहरुले गरिरहेका छन् । तर, हालैमा नम्रताले नायक कोशिश क्षेत्रीसँग चलचित्र ‘पर्व’ को छायाँकन सकाइन् । आर्यनसँग पर्दामा सधै हिट नायिका नम्रताले पहिलो पटक नायक कोशिश क्षेत्रीसँग काम गरेकी हुन । यति बेला नेपाली सिनेवृत एउटै खबरले तातेको तातिरहेको छ कि, ‘के आर्यन जस्तै कोशिशसँग होला नम्रताको जोडी हिट ?’ अब यो त ‘पर्व’ रिलिज भएपछि मात्र थाहा हुने कुरा भयो ।
अहिले यो चलचित्रको ‘काले दाई’ बोलको आइटम गीतले नेपाली बजार राम्रै पिटिरहेको छ । अर्को बर्षको जेठ १२ लाई रिलिज डेट तय गरिएको चलचित्र ‘पर्व’ मा नम्रता र कोशिशका अलवा माला लिम्बु, केशव भट्टराई, जेविका कार्की लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता चलचित्रका सुपरहिट निर्देशक दिनेश राउतले यो चलचित्र निर्देशन गरेका हुन । सुवास गिरी र निकिता पौडेल निर्माता रहेको यो चलचित्रमा हिमाल केसीको द्धन्द्ध, कविराज गहतराजको कोरियोग्राफी र कोशिश क्षेत्रीको कथा छ ।