सिंगल हलकी बादशाह रेखा थापालाई झण्डै १ बर्षदेखी दर्शकहरुले ठूलो पर्दामा देख्न पाएका छैनन् । हुनत, दर्शकहरुले यसअघि रेखालाई बर्षको एक चलचित्रमा मात्रै देख्दै आइरहेका हुन तर उनी बर्षमा एक पटक दर्शकमाझ आउँदा पनि आफ्नै होम प्रोडक्शनमा निर्माण हुने चलचित्र लिएर मात्र आउने गर्थिन । गएको बर्ष उनी अभिनित चलचित्र ‘रामप्यारी’ हलमा लागेको थियो । तर, यस बर्ष उनको होम प्रोडक्शनमा कुनै पनि चलचित्र बनेनन् । यसको सट्टा उनले बाहिरी ब्यानरका तीन चलचित्रमा काम गरिन् । ती मध्ये यस बर्षका लागि पहिलो रिलिज बन्ने भएको छ चलचित्र ‘पलाँस’, जुन यही चैत १८ गतेबाट हलमा लाग्ने तयारीमा छ ।
सिंगल हलमा राम्रै दबदबा कायम गरेकी रेखाको एक बर्षपछि हलमा हुन लागेको ईन्टी कति धमाकेदार हुने हो त्यो हेर्न भने चैत १८ गतेसम्म कुर्नै पर्ला । यो मितिमा रेखा स्टारर चलचित्र ‘पलाँस’ एकल रिलिज हुन लागेका कारण पनि नेपाली बजारमा यो चलचित्रले राम्रै पैसा छाप्नेमा दुईमत छैन । मात्र हेर्न यति बाँकी रह्यो कि एकबर्षसम्म रेखा थापाको चलचित्र हेर्न नपाएर भोकाएका दर्शकहरुलाई ‘पलाँस’ ले त्यो प्रतिक्षाको तिर्खा मेटाउन सक्छ वा सक्दैन ?
यस पटक रेखालाई ठूलो राहत पनि मिलेको छ, त्यो के हो भने चलचित्र ‘पलाँस’ ले मल्टिप्लेक्समा राम्रो शो पाएको खबर प्राप्त भएको छ । यसअघि रेखाका चलचित्रले ‘मल्टिप्लेक्स’ मा कमै शो पाउने गर्थे भने खासै दमदार कमाई गर्न नसकेको पनि सबैमाझ छर्लङ्ग छ । चलचित्र ‘पलाँस’ का वितरकको भनाईलाई आधार मान्ने हो भने यस पटक मल्टिप्लेक्समा रेखाको चलचित्र ‘पलाँस’ ले राम्रो शो पाएको छ । अब दर्शक चाहिँ ‘पलाँस’ ले मल्टिप्लेक्समा कति हुल्न सक्छ त्यो त प्रतिक्षाको विषय नै बनेको छ । सिंगल हलमा त रेखाको स्टारडम चल्ने नै भयो ।
कृषा चौलागाइको निर्माणमा तयार भएको यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रमा रेखाले यस अगाडि निर्वाह नगरेको भूमिका गरेकी छिन् । रेखालाई दर्शकले चलचित्रमा ‘शिक्षिकादेखि कल गर्ल’ सम्मको भूमिकामा देख्न पाउनेछन् । यसैले पनि रेखा आफूले यो चलचित्रमा काम गरेको बताउँछिन् । चलचित्रमा अयुव केसी, कामेश्वर चौरासिया लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।