गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ ले प्रदर्शनको दुईदिनमा उत्साहजनक व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार ५० प्रतिशत अकुपेन्सी गरेको ‘लप्पन छप्पन’ ले शनिबार उत्कृष्ट व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका छन् । उनका अनुसार, चलचित्रको शनिबार देशभर ८५ प्रतिशत अकुपेन्सी छ ।
‘लप्पन छप्पन’ ले शनिबार राजधानीका सबै जसो हलमा हाउसफूल व्यापार गरेको थियो भने मोफसलमा करिब ८० प्रतिशतको अकुपेन्सी गरेको वितरक शाही बताउँछन् । अहिले यो चलचित्र काठमाडौँका १९ हल र मोफसलका ४५ हलमा प्रदर्शन भइरहेको छ । दयाहाङ राई र सौगात मल्ल स्टारर ‘लप्पन छप्पन’ ले मल्टिप्लेक्ससँगै सिंगल हलहरु पनि कब्जा गरेको छ । यो चलचित्रलाई क्युएफएक्स सिनेमाले १७ शोज दिएको छ भने अन्य मल्टिप्लेक्सले पनि राम्रो शोज उपलब्ध गराएको निर्माण पक्षको दाबी छ । शुक्रबार र शनिबार चलचित्रका कलाकार दयाहाङ राई, बर्षा सिवाकोटी लगायतका मुख्य कलाकारहरु दर्शक प्रतिक्रिया बुझ्न हल परिसरमा पुगेका थिए।
चलचित्र हेरेका दर्शकहरुले ‘लप्पन छप्पन’ को खेलेरै तारिफ गरेका छन् । यतिसम्मकी ‘लुट २’ भन्दा ‘लप्पन छप्पन’ राम्रो बनेको प्रतिक्रिया निर्माणपक्षले दर्शकहरुबाट प्राप्त गरेको छ । यसले निर्देशकदेखी कलाकारहरुमा उत्साह थपेको छ । धेरै जसो छायांकन युरोपमा भएको ‘लप्पन छप्पन’ ले ट्रेलर रिलिज भएसँगै छुट्टै हाइप बनाएको थियो । जुन अनुसार दर्शकहरु अहिले हलहरुमा ओइरिएका छन् । चलचित्रको दुईदिने कलेक्सन रिपोर्ट भने अहिलेसम्म प्राप्त भैसकेको छैन । चलचित्रको कलेक्सन पहिलो विकेन्डको समाप्तिमा मात्र सार्वजनिक गर्ने वितरक गोविन्द शाहीले बताए । मुकुन्द भट्ट निर्देशित फिल्ममा अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, बर्षा सिवाकोटी, प्रकाशजंश शाह र सिड खरेल लगाएतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई डम्बर चन्द र इन्द्र खरेलले मिलेर बनाएका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन र चन्द्र पन्तको द्वन्द रहेको छ ।