नेपाली चलचित्रकी क्यूट नायिका झरना थापाको आज जन्मदिन । आजभन्दा २० बर्ष अगाडी ‘धर्मसंकट’ चलचित्रबाट नेपाली चलचित्रमा आफ्नो पाइला अगाडी बढाएकी झरनाले सयभन्दा बढी चलचित्रमा काम गरिसकेकी छिन् । केही बर्षदेखी अभिनयबाट टाढा रहँदै आएकी झरना एक समयकी सफल र व्यस्त नायिका मध्येकी एक हुन । निर्माता सुनिल कुमार थापासँग विवाह गरेपछि झन नेपाली चलचित्रमा सक्रिय रुपमा लागेकी झरनाकी एक छोरी छिन्, सुहाना । खबरका अनुसार, झरना आफ्नी छोरी सुहानालाई पनि अभिनयमा ल्याउने तयारीमा छिन् ।
झरनाले आफ्नो समयमा दर्जन बढी व्यावसयिक सफल चलचित्रहरु पस्किसकेकी छन् । ती मध्ये झरना अभिनित कतिपय चलचित्रहरुले हलमा एकाउन्न र एक सय दिन मनाउन पनि सफल भए ।
चलचित्र अभिनयको लामो अनुभवपछि नायिका झरना थापाले एस.के थापा प्रोडक्सनबाट चलचित्र ‘ए मेरो हजुर २’ निर्देशन गरेकी छिन् । खबरका अनुसार, यो चलचित्र अर्को बर्षको भदौ १६ गतेबाट हलमा लाग्दैछ । आज साँझ झरनाले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र ‘ए मेरो हजुर २’ को फस्टलुक पोष्टर र एक गीत पनि सार्वजनिक गर्दैछिन् । अभिनयसँगै निर्देशनमा पनि झरना थापालाई सफलता मिल्छ वा मिल्दैन त्यो त भदौ १६ गतेपछि नै थाहा हुनेछ । झरनाले अभिनय गरेका ‘तकदिर’, ‘गोर्खाली’, ‘ए मेरो हजुर’, ‘म तिमी बिना मरिहाल्छु’, ‘खलनायक’, ‘कहाँ छौ कहाँ…?’, ‘अप्सरा’, ‘मेरी आमा’ लगायतका चलचित्रहरु सुपरहिट छन् ।
‘सिने खबर डटकम’ परिवार झरना थापालाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछ ।