अहिले बलीउड कलाकार राजपाल यादवको चर्चाले नेपाली बजार राम्रै गर्माएको छ । नगर्माओस् पनि कसरी किनकी नेपाली दौरासुरुवालमाथी ज्वारी कोर्ट र शिरमा भादगाउँले टोपी लगाएर नेपाली चलचित्र ‘करोडपति’ मा अहिले उनी काम गरिरहेका छन् । केही दिन अगाडी चलचित्र ‘करोडपति’ का निर्माता तथा नायक आर्यन अधिकारी र नायिका नीता ढुंगानाले आफ्नो फेसबुकमा शेयर गरेको तश्वीरबाट यो सजिलै अनुमान लागाउन सकिन्छ कि राजपाल यादव चलचित्र ‘करोडपति’ मा नेपाली बाबु बनेका छन् । झण्डै २ हप्ता यही चलचित्रका लागि नेपालमा रहने राजपाल यादवले यसअघि नेपाली यूवक बनेर बलीउड चलचित्र ‘लभ इन नेपाल’ मा पनि अभिनय गरेका थिए ।
हाल काभ्रेमा छायाँकन भइरहेको चलचित्र ‘करोडपति’ मा व्यस्त कलाकार राजपाल यादवलले नेपाल आफुलाई आफ्नै देश जस्तो लाग्ने बताए । एक अनलाइनलाई भिडियो अन्तर्वार्ता दिने क्रममा राजपाल यादवले भने, ‘मैले नेपाली व्यक्तिहरुसँग धेरै काम गरेको छु । दिल्ली, मुम्बईमा धेरै नेपालीहरु रहनुहुन्छ । बलीउड चलचित्रमा पनि धेरै नेपालीहरु सक्रिय हुनुहुन्छ । तर, यसरी नेपालमै आएर नेपाली चलचित्र गरेको चाहिँ मैले पहिलो पटक हो ।’
उनले नेपाली चलचित्रमा काम गर्न पाउँदा निकै खुशी महशुस गरेको बताए । उनले राम्रो कथावस्तु, राम्रो भूमिका भए आगामी दिनहरुमा पनि नेपाली चलचित्रमा काम गर्न तयार रहेको बताएका छन् ।
उनले अगाडी थप्दै भने, ‘कहिले काहिँ पैसा त कहिले कथावस्तु राम्रो भयो भने पनि काम गरिन्छ । यी दुइटाकै व्यालेन्स बनाउनु पर्छ । राम्रो चलचित्र छ, नेपाली दर्शकहरुलाई मज्जा दिन्छ भने म नेपाली चलचित्र फ्रिमा गर्न तयार छु ।’
उनले करिब २ बर्षदेखी नेपाली भाषामा नै चलचित्र ‘नालापानी’ मा काम गर्ने तयारी भइरहेको पनि बताए । ‘मेरो दिमाग छ, ‘नालापानी’ त जसरी पनि गर्नु पर्छ । यो नेपाली भाषामा नै बन्ने तयारी भइरहेको छ । म नेपाली जस्तै देखिन्छु त्यसैले मलाई नेपाली चलचित्रमा काम गर्न मन लाग्छ ।’, उनले भने ।
उनले नेपाली कलाकारहरुसँग नेपाली चलचित्रमा पहिलो पटक काम गरेको बताउँदै चलचित्र ‘करोडपति’ का नायक आर्यन अधिकारी बलीउड नायक टाइगर श्राफ जस्तै लाग्ने बताए ।
तपाईहरुलाई बताइदिउँ कि चलचित्र ‘करोडपति’ मा राजपाल यादवका अलवा अन्य दुई भारतीय कलाकारहरुको पनि अभिनय रहनेछ । यो चलचित्रका निर्देशकको नाम भने अहिलेसम्म खुलाइएको छैन ।