नेपाली चलचित्रका दुई स्टार नायिकाको नाम सबैभन्दा अगाडी कसैको आउँछ भने ति हुन नायिका रेखा थापा र झरना थापा । रेखा थापाले नेपाली चलचित्रमा पाइला टेक्नुभन्दा अगाडी नै झरना एउटा स्थापित नाम बनिसकेको थियो । भलाद्मी र सुन्दर नायिकाको रुपमा चिनिने झरनाले लगभग नेपाली चलचित्रमा एकलौटी राज गरिरहेको बखत नेपाली रजतपटमा भित्रिएकी थिइन् रेखा । रेखाको ईन्ट्रीले झरना मात्र होइन त्यस समयका चर्चित नायिका करिश्मा मानन्धर, विपना थापा, निरुता सिंह लगायतका धेरैलाई ओझेलमा पारेको चर्चा पनि खुबै चलेको थियो । एकाउन्न र सय दिन मनाउन सफल केही चलचित्रहरु समेत आफ्नो पोल्टामा पारेकी नायिका झरना थापा र लगातार हिट चलचित्र पस्किएकी रेखा थापाको कुनै दिन राम्रै घम्साघम्सी हुने गरेको चर्चा अहिले पनि चल्छ नेपाली सिनेवृतमा । तर, विस्तारै नेपाली चलचित्रमा नयाँ अनुहारहरुको आगमनसँगै झरना अभिनयबाट टाढा रहँदै आएकी छिन् भने नायिका रेखा थापा निर्माण र अभिनयसँग-सँगै राजनीतिमा पनि सक्रिय रुपमा लागिरहेकी छिन् । अब यति बेला आफु नम्बर वान नायिका भनेर हिँड्न उचित नभएर हुनसक्छ, आजकाल रेखा थापा र झरना थापाको मित्रता खुबै गहिरो हुँदै गएको छ । उनीहरु भेट हुँदा मात्र होइन, सार्वजनिक कार्यक्रममा एकअर्काको तारिफ गर्नु पर्यो भनेपनि थाक्दैनन् ।
यसैबीच, आइतबार राजधानीमा नायिका झरना थापाले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘ए मेरो हजुर २’ को मोसन पोष्टर र एक गीत रिलिज गरियो । कार्यक्रममा नेपाली चलचित्रका केही चर्चित अनुहारहरु पनि उपस्थित थिए । उक्त कार्यक्रममा झरना थापाको निमन्त्रणा स्वीकार गर्दै उपस्थित भएकी थिइन नायिका रेखा थापा पनि । निर्माता सुनिल कुमार थापा, कलाकारद्धय सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बाँनियाले चलचित्रको विषयमा आफ्नो विचार राखेपछि नायिका रेखा थापाले झरना थापाको तारिफ गर्दै आफ्नो वजनदार शब्दहरुको बुट्टा भर्न थालिन् । उनले झरना थापालाई जन्मदिनको शुभकामना भन्दा पनि चलचित्र ‘ए मेरो हजुर २’ को विशेष शुभकामना दिइन् । उनले आफ्नो विचार राख्ने क्रममा नायिका झरना थापालाई टप हिरोइन भन्न समेत हिच्किचाइनन् । उनले भनिन्, ‘म विषेश त झरना थापालाई बर्थडे विश गर्न भन्दा पनि उहाँको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ को अत्याधिक सफलताको शुभकामना दिन आएकी हुँ । जन्मदिन त हामी प्रत्येक बर्ष मनाइनै रहेका छौं तर यो अर्को जन्म हो दिदीको । यो जन्म तपाईको जसरी सार्थकता भयो, पपुरालिटी कमाउनु भयो त्यसरी नै निर्देशनमा पनि सफल हुनुहोस् भन्ने शुभकामना दिन चाहन्छु । हामी तपाईकै मार्गदर्शनमा नै हिँडिरहेका छौ । निर्देशकिय क्षमता पनि जसरी तपाई पपुलर अभिनेत्री हुनुभयो त्यसरी नै टप डायरेक्टर भएको ‘ए मेरो हजुर २’ पछि हेर्न पाइन्छ भन्नेमा मलाई विश्वास छ ।’
झरनाको तारिफसँगै रेखाले चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ हिरोइनहरुको भिडमा आफुलाई राम्री नायिका लाग्ने बताइन् ।
तश्वीर : रेखा थापाको फेसबुकबाट