नेपाली चलचित्रकी परिचित अनुहार नै हुन नायिका रिमा विश्वकर्मा । म्यूजिक भिडियो हुँदै नेपाली चलचित्रमा आफ्नो पाइला लम्काएकी रिमा खासै सफल नायिकामा भने पर्दिनन् । औंलामा गन्ने हो भने झण्डै दर्जन बढी सिनेमा काम गरिसकेकी रिमाको एक चलचित्र पनि भन्न लायकको हिट छैन । जस कारण अहिले उनको व्यस्तता चलचित्रमा होइन म्यूजिक भिडियोमा बढी छ । बोल्ड लुक्सकी धनी रिमाको पछिल्लो समय ठूलो पर्दाका चलचित्र भन्दा दैनिक जसो नै युटुब र टेलिभिजनमा म्यूजिक भिडियोहरु सार्वजनिक हुने गर्छन । एक दिनमा नै म्यूजिक भिडियोको काम सकिने र २० देखी ३० हजारको आसपासमा पारिश्रमिक पनि पाइने हुँदा रिमा आफुलाई आएको म्यूजिक भिडियोको अफर खासै उम्काउन चाहन्नन् । र, चलचित्रबाट पनि राम्रो अफर नआउँदा फुर्सद बस्नु भन्दा उनी म्यूजिक भिडियोमै आफुलाई व्यस्त बनाउने गर्छिन ।
सुन्दरता र अभिनय हुँदा हुँदै पनि चलचित्रको पर्दामा जम्न नसकेकी रिमाले ‘स्वर’ चलचित्रबाट नेपाली चलचित्रमा पाइला अगाडी बढाएकी हुन् । त्यसपछि उनले ‘भिसा गर्ल’, ‘रितु’ लगायतका चलचित्रमा काम गरिन् । यी कुनै पनि चलचित्र हिट सावित भएनन् । रिमालाई पछिल्लो पटक नेपाली दर्शकहरुले बर्ष २०७२ मा रिलिज भएको चलचित्र ‘भाले फाइट’ मा हेर्न पाएका थिए । त्यसपछि उनलाई दर्शकहरुले पर्दामा देख्न पाएका छैनन् । ‘भाले फाइट’ पछि उनलाई दर्शकहरुले पर्दामा देख्न नपाउनु कारण एउटै छ, लगातार एकपछि अर्को चलचित्र बक्सअफिसमा नराम्रोसँग पछारिँदा अहिले निर्माताहरु चलचित्रको स्क्रिप्ट बोकेर रिमाको घरको दैलोसम्म पुग्ने आँट गरेका छैनन् । क्रमशः नेपाली चलचित्रमा नयाँ अनुहारहरुको आगमन भएसँगै अहिले रिमा पनि ओझेलमा पर्दै गएकी छिन् । फिल्म करियर ओरालो लाग्दै गर्दा उनले बर्ष २०७२ मा बेलायतमा बस्दै आएका रोवर्ट ल्वागुन विश्वकर्मासँग विवाह गरेकी थिइन् । विवाहपछि धेरै हल्ला पनि चल्यो अब उनी श्रीमानसँगै बेलायतबासी हुन्छिन् तर हालसम्म भने उनले चलचित्रक्षेत्र छोडेकी छैनन् । विवाहपछि धेरै नायिकाहरु गुपचुप भइरहेको अबस्थामा उनी भने अझै नेपाली चलचित्रमा नै सक्रिय रहने बताउँदै आएकी छिन् । अब रिमालाई एउटा दमदार चलचित्रको खाँचो छ, जसले ओरालो लागेको उनीको यात्रालाई उकालो चढ्न मद्दत गरोस् । तर, अहिलेसम्म उनले त्यस्तो चलचित्र हात पारिसकेकी भने छैनन् । अब यो त भोलीको दिनले देखाउला कि रिमालाई हिट चलचित्रकी नायिका भनेर दर्शकहरुले चिन्ने दिन आउला वा नआउला ?