अब एक दिन मात्र बाँकी छ, त्यसपछि त हामीबाट २०७३ ले सधाका लागि विदा माग्नेछ र २०७४ प्रवेश गर्नेछ । २०७३ मा तपाईको जिवनमा पनि केही राम्रा र केही नराम्रा पलहरु आए होलान् तर २०७४ बर्षले तपाईहरुको जिवनमा सुखीको पल ल्यायोस् सिनेखबर डटकम परिवार यही शुभकामना व्यक्त गर्दछ । केही दिनदेखी हामीले २०७३ फर्किएर हेर्दै आइरहेका छन् । यसअघि हामीले उत्कृष्ट ५ नायक र यस बर्षका हिट चलचित्रको बारेमा तपाईहरुलाई जानकारी दिइसकेका छौं । आज भने हामी यस बर्ष नेपाली चलचित्रमा पाइला टेकेका नव अनुहारहरुको कुरा गर्दैछौं, जसबाट नेपाली चलचित्र क्षेत्रले अब आश गर्न सक्छ । यस बर्ष ८८ चलचित्र रिलिज भएकोमा अधिकांश चलचित्रमा नव अनुहारहरुको बाहुल्यता देखियो । चाहे त्यो नायक हुन वा नायिका । ‘हाऊ फन्नी’ बाट सुरु भएको यस बर्षको सुरुवात चैतको २५ गते रिलिज भएको ‘अपरिचित’ सम्म आइपुग्दा दर्जनौं नव-कलाकारहरुले आफु पनि कलाकार हुँ भन्ने मौका पाए । कति एउटै चलचित्रले रातारात हिट भने कतिलाई एउटै चलचित्रले नराम्रैसँग पछार्यो ।
हेरौं यस बर्ष नेपाली चलचित्रमा पाइला टेकेका हिट नव-कलाकारहरु :
१. आयुष्मान देशराज श्रेष्ठ
अहिले आयुष्मान देशराज श्रेष्ठलाई अनमोल केसीको विकल्पको रुपमा हेरिन थालिएको छ । यस बर्ष प्रदर्शनमा आएको चलचित्र ‘चपली हाईट २’ ले आयुष्मानलाई नसोचेकै स्टार बनायो । खबर त यो पनि आएको थियो कि आयुष्मानले ‘चपली हाईट २’ पछि दोस्रो चलचित्रका लागि १० लाख पारिश्रमिक मागेका थिए । ‘चपली हाईट २’ मा गरेको दमदार अभिनयले अहिले निर्माताहरु उनलाई अनमोलको विकल्पको रुपमा हेर्दै आइरहेका छन् । केही दिन अगाडी मात्र दोस्रो चलचित्र ‘कथा काठमाण्डू’ को छायाँकन सकाएका आयुष्मानबाट अब नेपाली चलचित्रले केही आश गर्न सक्ने देखिन्छ ।
२. श्रृष्टी श्रेष्ठ
पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ नेपाली दर्शकहरुका लागि अपरिचित नाम होइन । पूर्व मिस नेपाल भएका कारण पनि श्रृष्टीको चर्चा खुबै हुने गर्थ्यो । तर, यस बर्ष रिलिज भएको चलचित्र ‘गाजलु’ मा गरेको अभिनयले त रातारात उनलाई स्टार नायिका बनायो । यो उनको डेब्यू चलचित्र थियो । अनमोल केसीको अपोजिटमा देखिएकी श्रृष्टीको अभिनय र सुन्दरताले यस बर्ष उनको चर्चा खुबै भयो नेपाली सिनेवृतमा । केही दिन अगाडी ‘रोमियो एण्ड मुना’ को छायाँकन सकाएकी श्रृष्टी तेस्रो चलचित्र ‘लाउरे’ का लागि समेत फाइनल भैसकेकी छिन् । सौगात मल्लसँगको अफयेरका कारण पनि यस बर्ष खुबै चर्चामा रहेकी श्रृष्टीले पहिलो चलचित्रबाटै हिट नायिकाको छाप बनाएपछि यति बेला उनीबाट नेपाली चलचित्र क्षेत्रले ठूलै आश बोकेको छ ।
३. आर्यन अधिकारी
बलीउडका एक्सनस्टार टाइगर श्राफका डब्लिकेट भनेर समेत चिनिने नेपाली नायक आर्यन अधिकारी यस बर्ष रिलिज भएको चलचित्र ‘के म तिम्रो होइन र’ बाट नेपाली चलचित्रमा भित्रिएका हुन । सिक्स प्याकका कारण पनि आर्यनको यस बर्ष राम्रै चर्चा भयो । ‘के म तिम्रो होइन र’ ले औसत व्यापार गरेपनि आर्यनको एक्सन र लुक्सको चौतर्फी तारिफ पायो । गएको महिना मात्र नायिका प्रियंका कार्कीसँग दोस्रो चलचित्र ‘बटरफ्लाई’ को छायाँकन सकाएका आर्यन अहिले नायिका नीता ढुंगानासँग तेस्रो चलचित्र ‘करोडपति’ को छायांकनमा व्यस्त छ । पहिलो चलचित्रबाटै दर्शकहरुमा एक्सन नायकको छवि बनाएका आर्यनबाट पनि नेपाली चलचित्र क्षेत्रले राम्रै आश बोकेको छ ।
४. दीया पुन
यस बर्ष रिलिज भएको चलचित्र ‘वीर विक्रम’ हेर्नु भएको छ भने नायक दयाहाङ राईको अपोजिटमा काम गरेकी नायिका हुन्, दीया पुन । ‘वीर विक्रम’ उनको पहिलो डेब्यू चलचित्र हो । वीर विक्रममा उनको भूमिकालाई दर्शकहरुले खुबै मन पराए । चलचित्र ‘वीर विक्रम’ हलमा हिट भएसँगै दीया पनि यस बर्ष भित्रिएका नायिकाहरु मध्ये हिट नव-नायिकाको सूचीमा उभिइन् । ‘वीर विक्रम’ पछि उनले सौगात मल्लसँग चलचित्र ‘बमकाजी’ मा काम गरेकी छिन्, जुन रिलिज हुन बाँकी छ । दीयालाई पनि अहिले नेपाली चलचित्र क्षेत्रको आशलाग्दो अनुहारको रुपमा हेरिएको छ ।
५. आकाश क्षेष्ठ
‘म त तिम्रै हुँ’ बाट नेपाली चलचित्रमा भित्रिएका नव-नायक हुन आकाश क्षेष्ठ । पहिलो चलचित्रबाटै राम्रो हाइप लिएका आकाशले हालैमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको जोडी बनेर चलचित्र ‘तिमीसँग’ मा काम गरे । ‘म त तिम्रै हुँ’ सफल नभएपनि आकाशलाई भने यही चलचित्र करिअर चम्काउने कोशेढुङ्गा सावित भयो । अब ‘तिमीसँग’ रिलिज भएपछि आकाशको माग र चर्चा झन बढ्नेमा शंका छैन ।
६. पुष्पल खड्का
यस बर्षको प्रतिक्षित चलचित्र मानिएपनि फल्प सावित भएको ‘दर्पण छायाँ २’ बाट नेपाली रजतपटमा भित्रिएका नव-नायक हुन पुष्पल खड्का । हुनत, उनको यो डेब्यू चलचित्र भने थिएन । यसअघि उनले ‘अझै पनि’ मा काम गरेका थिएन तर यो चलचित्रमा छोटो भूमिका भएका कारण पुष्पललाई दर्शकहरुले खासै याद गर्न पाएनन् । ‘दर्पण छायाँ २’ मा लिड रोलमा देखिएका पुष्पललाई दर्शकहरुले राम्रै याद गरे तर कमजोर कथावस्तुका कारण पुष्पलको जुन अनुसारको चर्चा हुनु पर्थ्यो त्यो भने हुन सकेन । ‘दर्पण छायाँ २’ रिलिज हुनुभन्दा अगाडी नै उनले छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘मंगलम’ मा पनि मुख्य भूमिका निर्वाहा गरेका छन्, जुन अर्को बर्षको दशैमा रिलिज हुँदैछ । ‘दर्पण छायाँ २’ फल्प भएपनि पुष्पललाई अहिले नव-नायकको भिडमा आशलाग्दो अनुहारको रुपमा हेरिन थालिएको छ ।
७. पृथ्वीराज प्रसाई
‘किस्मत २’ बाट नेपाली रजतपटमा भित्रिएका नायक पृथ्वीराज प्रसाई नव-नायकको भिडका एक लाशलाग्दा अनुहार हुन । ‘किस्मत २’ मा उनले गरेको अभिनयलाई दर्शकहरुले खुबै रुचाए । ‘किस्मत’ ले पृथ्वीको किस्मत नै चम्कायो । चलचित्र ‘किस्मत’ पछि पुनः उनले छविराज प्रोडक्शनको अर्को प्रोजेक्ट ‘मंगलम’ मा पनि मुख्य भूमिका निर्वाहा गर्ने मौका पाएका छन् । छविराज प्रोडक्शनभन्दा बाहिरको ब्यानरबाट अहिलेसम्म पुथ्वीको माग नभएपनि ‘मंगलम’ ले त्यो कुरा पनि पूरा गर्ने विश्वासमा छन् उनी ।