नेपाली चलचित्रका एक लाशलाग्दा अनुहार थिए ‘पर्खी बसेँ’ नायक राजबल्लभ कोइराला । तर, अहिले उनी नेपाली चलचित्रको विरानो अनुहार भइसकेका छन् । डेब्यू चलचित्र नै सुपरहिट भएपछि राजबल्लभको माग र चर्चा नेपाली बजारमा खुबै थियो तर त्यो धेरै समय टिकेन । ‘पर्खी बसेँ’ हिट भएपनि त्यसपछिका चलचित्रहरु उनी आफैका लागि घातक सावित भए । अन्ततः उनले अमेरिकाको बाटो रोज्नु पर्यो । हुनत, राजबल्लभले ‘पर्खी बसेँ’ पछि झण्डै दर्जन बढी सिनेमामा काम गरे तर कसैले पनि उनको करियर चम्काउन मद्दत गरेनन् । ‘पर्खी बसेँ’ पछि राजबल्लभका ‘प्रितीको फूल’, ‘फूल’, ‘हाँसि देऊ एक फेर’, ‘मलाई मन पर्यो’, ‘सम्झी दिएपनि पुग्छ’, ‘सम्झना’, ‘मसान’, ‘छोडी गए पाप लाग्ला’ लगायतका चलचित्रहरु हलमा लागका थिए तर ‘छोडी गए पाप लाग्ला’ ले सन्तोषजनक व्यापार गरेपनि अन्य चलचित्र फल्प सूचीमा दर्ता हुन पुगे ।
हिट भन्दा फल्प चलचित्रहरु एकपछि अर्को आफ्नो नाममा दर्ता हुँदै गएपछि उनले नेपाली चलचित्रबाट पलायन हुनुको विकल्प देखेनन् । राजबल्लभ अहिले अमेरिकामा बस्छन् । लामो समय भइसकेको छ उनी अमेरिका बस्न थालेको पनि । अमेरिका बसेपनि उनलाई अभिनयको शौखले पनि छोडेन । उनले पहिलो पटक हलीउड फिल्म ‘हाइवे टु धम्पुस’ मा काम गर्ने मौका पाए । यो उनका लागि सबैभन्दा ठूलो अवसर थियो । उनले यो फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मौका पाएका थिए । तर, यो फिल्म पनि बक्सअफिसमा नराम्रोसँग पछारियो । राजबल्लभलाई अन्तिम पटक दर्शकहरुले नेपाली चलचित्र ‘६ एकान ६’ हेरेका थिए ।अभिनयमा फलिफाप नभएपछि उनले चलचित्र निर्माणमा पनि हात हाले । उनले निर्माण गरेको नेपाली चलचित्र ‘राघव’ गएको बर्षमात्र युटुबमा रिलिज भएको थियो । नेपालमा प्रदर्शन विना नै ‘राघव’ युटुबमा रिलिज हुनुले यो कुरालाई स्पष्ट पारेको थियो कि राजबल्लभ आफैलाई लागेको थिएन यो चलचित्रले नेपालमा कमाल गर्छ । अभिनयसँगै उनी चलचित्र निर्माणमा पनि असफल भए । अहिले उनी अभिनयभन्दा पनि अमेरिका बसाईमै रमाइरहेका छन् । दैनिक जसो उनको फेसबुक र इन्स्टाग्राममा अपलोड हुने तश्वीरहरुले यो कुरालाई स्पष्ट पार्छ कि अब उनी ठूलो पर्दा होइन रियल लाइफको पर्दामै रम्न चाहन्छन् । उमेरले ३५ बर्ष नाघिसकेका राजबल्लभ हालसम्म भने अविवाहित छन् ।