भोलीबाट २०७४ ले नेपालीहरुको आँगनमा पाइला टेक्नेछ भने आजको लागि मात्र २०७३ हामी माझ रहनेछ । हामीले केही दिनदेखी लगातार रुपमा २०७३ मा नेपाली चलचित्र क्षेत्रमा भएका विभिन्न गतिविधिदेखी चलचित्रको हिसाब किताब, कुन कलाकार कति हिट लगायतका कुराहरु तपाईहरुमाझ पस्किदै आइरहेका छौं । हामीले यसअघि उत्कृष्ट ५ नायक, यस बर्षका ८ हिट चलचित्र र २०७३ मा भित्रिएका नव कलाकारहरुको विषयमा कुरा गरिसकेका छौं । यो प्याकेजमा हामी तपाईहरुलाई तीन नेपाली सुपरस्टारको दुखःद बर्षको समिक्षा गर्दैछौं, जसको यस बर्ष चलचित्र रिलिज त भए तर कमाल गर्न सकेन ।
१. राजेश हमाल
कुनै समय यस्तो थियो कि नायक राजेश हमालका चलचित्र भनेपछि दर्शकहरु मरिहत्ते गर्थे, हलमा ठूलै भिड लाग्थ्यो, पोष्टरमा हमालको टाउको देखाएपनि चलचित्रले लाखौंको विजनेश गर्थे तर अहिले जमाना फेरिएको छ । कुनै दिन हमालको टाउको राखेपनि ठूलो संख्यामा हल छिर्ने दर्शकहरु अहिले कि त अनमोल केसी भए हल पस्छन् कि त सौगात र दयाहांग राई जस्ता कलाकारहरु भए । केही बर्षयताको भित्ते पात्रो पल्टाउने हो भने नायक राजेश हमालका प्रत्येक चलचित्रले धमाकेदार व्यापार गर्न छोडेको बर्षौं भैसकेको छ । प्रत्येक बर्ष झैं यसबर्षपनि हमाल दर्शकहरुमाझ नझुल्किएका होइनन् । पहिलो पटक महिलाको अवतारमा ‘शकुन्तला’ बनेर पर्दामा उदाएका राजेश हमालको यस बर्ष पनि हात खाली नै भयो । चलचित्र शकुन्तला कहिले हलमा लाग्यो र कहिले उत्रियो दर्शकहरुलाई हेक्का नै भएन । कुनै समय सिंगल हलमा राम्रै स्टारडमको पावर चल्ने हमालको क्रेज अहिले कति कमजोर भैसकेको छ भन्ने कुरा चलचित्र ‘शकुन्तला’ ले पनि स्पष्ट पार्छ ।
२. निखिल उप्रेती
एक्सन नायकको छवि बनाएका नायक निखिल उप्रेतीको यस बर्ष दुई चलचित्र हलमा लागे, ‘किंग’ र ‘निर्भय’ । यी दुवै चलचित्र नेपाली बजारमा नराम्रोसँग पछारिए । हुनत, निखिलको ५ बर्षे कमब्याक चलचित्र ‘भैरव’ पछि कुनै पनि चलचित्र हिट सावित भएका छैनन् । ‘लुटेरा’ पनि असफल चलचित्रको सूचीमै उभिएको थियो भने त्यसपछि हलमा लागेका किंग र निर्भय पनि पूर्ण रुपपनि असफल चलचित्रको सूचीमै उभिए । केही बर्ष अगाडीसम्म निखिल उप्रेतीका चलचित्रले गज्जबकै व्यापार गर्ने गर्थे तर अहिले यस्तो लाग्दैछ अब निखिलको स्टारडम पनि कमजोर बन्दै गएको छ । ‘किंग’ र ‘निर्भय’ फल्पको सूचीमा सुचिकृत भएपनि निखिल यसबर्ष खाली बस्नु भने परेन । एकपछि अर्को चलचित्रमा व्यस्त निखिलको भोली नयाँ बर्षको दिन चलचित्र राधे हलमा लाग्दैछ । अब ‘राधे’ ले नै तय गर्नेछ कि निखिलको स्टारडम बाँकी नै छ वा कमजोर भैसक्यो ।
३. रेखा थापा
गएको बर्ष रिलिज भएको चलचित्र ‘रामप्यारी’ पछि हलमा लागेको थियो नायिका रेखा थापा अभिनित चलचित्र चलचित्र ‘पलाँस’ । प्रत्येक बर्षमा बल्कबस्टर चलचित्र दर्शकमाझ पस्किने रेखाको यस बर्ष सुखःद रहेन् । राजनीतिमा राम्रै सफलता पाएपनि यस बर्ष चलचित्रबाट भने उनले खुसीको हाँसोले मुस्कुराउन पाइनन् किनकी ‘पलाँस हलमा पनि लागेको थियो र ?’ भन्ने दर्शकहरु भेटिनुले नै यसलाई थप स्पष्ट पार्छ । चलचित्र ‘पलाँस’ मा यौनकर्मी र शिक्षिकाको भूमिकामा देखिएकी रेखाले यस बर्ष सिंगल हलमा पनि दर्शक तानिन् । खबर त यो समेत बाहिर आएको छ कि ‘पलाँस’ ले भित्तामा छापिएका पोष्टरहरुको समेत पैसा उठाएन । अब तपाईहरु आफैं बुझ्नुहोस् कि रेखाका लागि यस बर्ष सुखःद रह्यो वा दुखःद ।