केहि दिन पहिले बर्ष २०१७ को सर्वाधिक चर्चित फिल्म ‘बाहुबली २’ को नेपाल प्रदर्शन अधिकार वितरक सुनिल मानन्धरको कम्पनि श्रीराम बालाजी पिक्चर्स ले लिएको खबर बाहिरिएको थियो । अब भने उक्त खबर झुटो साबित भएको छ, यो फिल्मको नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मुभिजले लिएको खबर बाहिर आएको छ ।
गोपिकृष्ण मुभिजका म्यानेजर प्रदिप दाहालले सिनेखबरलाई दिएको जानकारी अनुसार ‘बाहुबली २’ को नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मुभिजले ३ करोड भारतिय रुपैयाँमा खरिद गरेको छ । बिहिबार मात्र गोपिकृष्ण मुभिजका कार्यकारी निर्देशक निरज पौडेलले धर्मा प्रोडक्शनसँग लिखित सम्झौता पत्रमा हस्ताक्षर गर्दै यो फिल्म आफ्नो पक्षमा लिएको दाहालले जानकारी दिए ।
साउथ फिल्म ‘बाहुबली २’ को हिन्दी भाषाको संस्करण यसअघि नै करण जोहरको धर्मा प्रोडक्शनले खरिद गरिसकेको थियो । फिल्म यहि महिना (अप्रिल) को २८ तारिखमा रिलिज हुँदैछ । ‘बाहुबली’को पहिलो संस्करणले नेपाल सहितका विश्वका विभिन्न देशमा गरेको उत्साहप्रद विजनेसपछि यो फिल्मको दोश्रो संस्करणमा धेरैको आँखा लागेको थियो ।