काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले शुक्रबार काठमाडौंका फिल्म हलहरुको आकस्मिक अनुगमन गरेका छन् । फिल्म हलहरुले फिल्म वितरण र प्रर्दशन ऐन अनुसार फिल्म हेर्न आउने दर्शकलाई ऐनमा तोकिए बमोजिम सेवा सुविधा नदिएको गुनासो आएपछि अनुगमनमा अध्यक्ष राई निस्किेका थिए ।
राईका अनुसार प्रविधिको विकास भएसँगै फिल्म निर्माणमा विकास भए पनि नेपालका अधिकांश फिल्म हलहरु सो बमोजिम अपडेट नभएको, काठमाडौका केही मल्टीप्लेक्स बाहेक सबै हलहरु अहिले पुरानै तरिकाले चलिरहेको, गोपीकृष्ण, अष्ठ नारायण, गुण, गंगालगायतका हलहरुमा बस्ने सिटमा चुईगम टाँसिएको, ट्वाईलेटको दुर्गन्धले हलभित्र बसिनसक्नु अनि हल प्रांगणमा सिगरेटको धुवाँको कुईरीमण्डलकै अवस्थामा रहेको गुनासो आएको थियो ।
‘चलचित्र विकास बोर्डले अहिले बक्स अफिस लगाउने कामलाई तिब्र गतिमा अगाडि बढाएको छ, त्यसकै लागि सबै हल सञ्चालकलाई सचेत गराउनेसँगै उनीहरुको गुनासो सुन्नको लागि पनि म आफै अनुगमनमा निस्किएको हुँ,’ अध्यक्ष राईले भने, ‘अब चाँडै नै हामीले हलको टिकट काउन्टरमा एउटा हातमा सिगरेट समातेर एउटा हातले टिकट बेच्ने मान्छेलाई देख्नुपर्ने छैन, सबै हलको टिकट काउण्टरमा कम्प्युटर जोडिने छ र टिकट काउण्टरमा सफा कपडा लगाएको देखिनेछ ।’
विदेशी फिल्मको हकमा विदेशी फिल्मले व्यवसाय गरेको कुल रकमको १५ प्रतिशत अनिवार्य रुपमा चलचित्र विकास बोर्डलाई बुझाउनु पर्ने नियम छ । उक्त रकमलाई विकास बोर्डले नेपाली फिल्म क्षेत्रको विकासको लागि चलचित्र विकास शुल्क भन्ने शिर्षकमा लिने गरेको छ । त्यसमा पनि हल व्यवसायीहरुले विदेशी फिल्मले गरेको ब्यापारको कुल रकम विकास बोर्डलाई नदेखाउने र विकास शुल्क पनि खाने गरेको आरोप लाग्दै आईरहेको छ ।
अध्यक्ष राईले राज्यलाई तिर्नु पर्ने कर र विकास शुल्कको कुरामा पनि पारदर्शी हुन र बक्स अफिसको लागि तयारी अवस्थामा लाग्न पनि निर्देशन दिएका छन् ।