फिल्म उद्योगमा पटक पटक नाम जोडिने धेरै जोडी मध्येको एक जोडी हो, निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माको जोडी । सँगसँगै हुने, सँगै काम गर्ने तर प्रेम स्विकार नगरेको यो जोडी राम्रै जमेको छ । सुदर्शनका प्रायः फिल्ममा पूजा छुट्दिनन्, पछिल्लो प्रोजेक्ट ‘म यस्तो गीत गाउँछु’ मा त पूजा निर्मात्री समेत बनेर सुदर्शनलाई लगानीमा समेत साथ दिएकी छिन् ।
उनै पूजाको आईतबार जन्मदिन हो । एकाबिहानै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सुदर्शनले ‘छायाँ’ उपनाम सहित पूजालाई जन्मदिनको शुभकामना व्यक्त गरे । यो सँगै आईतबार साँझ एक कार्यक्रमको आयोजना गरिएको छ, जहाँ सुदर्शनले पूजालाई ‘प्रेम गीत’ उपहार दिँदैछन् ।
तर नझूक्किनुस्, फिल्म ‘प्रेमगीत’ भने उनले उपहार दिन लागेका होईनन् । पूजाको जन्मदिनलाई विशेष बनाउन सुदर्शनले फिल्म ‘म यस्तो गीत गाउँछु’ मा समावेश एक गीत रिलिज गर्दैछन् । जुन गीतमा पूजा अभिनेता पल शाहसँगको रोमान्समा देखिनेछिन् ।
असार ३० लाई प्रदर्शन मिति तय गरिएको फिल्मको औपचारिक प्रचार प्रसार पनि अभिनेत्री अनि निर्मात्री रहेकी पूजाकै जन्मदिनबाट सुरु गर्न निर्माण टिम लागेको हो ।
तश्विरः स्ट्रिटनेपाल