गत बैशाख १ मा नेपाल रिलिज भई नेपाली दर्शकहरुबाट सुखद प्रतिक्रिया पाएको फिल्म ‘लभ लभ लभ’को अष्ट्रेलियाको सिड्नीमा भव्य रुपमा शो सम्पन्न भएको छ । ‘ईभेन्ट सिनेमाज वर्उड’मा भएको शो अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुको उपस्थितीले भरिभराउ भयो ।
उक्त शो मा सहभागी हुन निर्देशक दिपेन्द्र के खनाल र अभिनेता सुरज पाण्डे अष्ट्रेलिया पुगेका थिए । स्थानिय दर्शकहरुसँगै बसेर खनाल र पाण्डेले फिल्म हेरे अनि नजिकबाट प्रतिक्रिया पनि ग्रहण गरे । निर्देशक खनालले अष्ट्रेलियाली दर्शकले ‘लभ लभ लभ’लाई उत्कृष्ट प्रतिक्रिया दिएको बताए ।
डेब्यू फिल्मको अभिनयलाई लिएर दर्शकले दिएको प्रतिक्रियाबाट अभिनेता पाण्डे प्रफुल्लित छन् । दर्शकको सकारात्कम कमेन्ट, अनि प्रसंशाले भोलीका दिनमा राम्रो काम गर्नको लागी थप प्रेरणा मिल्दै आएको पाण्डेको कथन छ ।
शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा अमृत पाण्डे प्रस्तुतकर्ता छन् । सुरजको अपोजिटमा रहेकी स्वस्तिमा खड्का फिल्मकी लिड अभिनेत्री हुन् । सिड्नीपछि अष्ट्रेलियाका अन्य शहरमा पनि फिल्मको प्रदर्शनीको तयारी भईरहेको बताईएको छ ।