लामो समयको चर्चा परिचर्चापछि मात्रै बैशाखबाट फ्लोरमा गएको फिल्म ‘कृ’को यतिबेला छायांकन धमाधम चलिरहेको छ । फिल्म निर्माणको घोषणा देखि नै निर्माण टिम आउँदो भदौ ८ लाई प्रदर्शन मिति लक गरेर बसिसकेको छ । तर छायांकनको पछिल्लो घटनाक्रम हेर्ने हो भने यो फिल्म उक्त मितिमा आउने अवस्था कठिन देखिन्छ ।
फिल्मको हालसम्म ४० प्रतिशत मात्रै छायांकन सकिएको निर्माण टिम निकट श्रोत बताउँछ । केहि समय तनहुँ तथा गोरखामा छायांकन सकाईएपछि यतिबेला निर्माण टिम काठमाडौं आएको छ । अभिनेत्री अदिती बुढाथोकीले पनि सेट ज्वाईन गरिसकेकी छिन् । फिल्मको छायांकन अर्को महिना (असार) भरि लाग्ने अनुमान लगाईएको छ । अनलाईन सम्पादनको काम सँगसँगै अघि बढाईएको भनिएता पनि फिल्मको छायांकन पछिको सम्पुर्ण काम सकाएर भदौ ८ मै प्रदर्शनमा आउनेमा स्वयंम निर्माता, निर्देशक नै ढुक्क छैनन् । तर महत्वपुर्ण मानिएको ‘क्लाईमेक्स’ छायांकन सकिएकोमा आशा पनि उत्तिकै बढेको समेत निकट श्रोत बताउँछ ।
अर्को तर्फ व्रिटिस आर्मीको कथामा बनिरहेको फिल्मको केहि भाग विदेशमा छायांकन गर्नेमा निर्माण टिम लागिरहेको छ । लण्डनको दृश्य देखाउन कतारमा छायांकन गर्ने सोचमा पुगेको निर्माण टिम त्यो पनि सम्भव नहुने मनस्थितीमा पुगेपछि ‘कोर्मा’ खिचेरै भिएफएक्सबाट नेपाली पर्दामा विदेश देखाउने तयारीमा पुगेको समेत श्रोत बताउँछ ।
उता भदौ ८ मा फिल्म रिलिज हुन नसक्ने देखिँदा डिजिटल अधिकार खरिद गरेको कम्पनि हाईलाईट्स नेपाललाई समेत तनाब बढेको छ । हाईलाईट्स कम्पनिका ओम गुरुङले भदौ ८ मा फिल्म करिब नआउने अवस्था हुँदा आफुहरुले अधिकार लिईसकेको अन्य फिल्मको रिलिज मिलाएर ‘कृ’को अर्को रिलिज तय गर्नेमा छलफल चलिरहेको बताए । भदौमा नआउँदै गर्दा फिल्म कार्तिकमा रिलिज हुने संभावना बढि छ ।
तर बजारमा भदौमा ‘कृ’ रिलिज गर्न नसके ‘हाईलाईट्स’ नेपाललाई फिल्मको निर्माण टिमले १० लाख क्षतीपुर्ती दिनुपर्ने प्रकारको लिखित सम्झौता भईसकेको समेत चर्चा छ । सिनेखबरसँगको कुराकानीमा यो कुरालाई भने हाईलाईट्स प्रमुख ओम गुरुङले स्विाकर गरेनन् ।
तर कार्तिकमा प्रायः शुक्रबार पनि करिब करिब अहिले नै ‘रिजर्भ’ भईसकेका छन् । यो महिनामा सौगात मल्ल र प्रियंका कार्कीको ‘फाटेको जुत्ता’, रेखा थापाको ‘रुद्रप्रिया’ तथा साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर ‘तिमीसँग’ जस्ता फिल्मले रिलिज तोकिसक्दा उक्त मितिमा पनि ‘कृ’ ले कुन रोज्ने अन्यौल हुनसक्छ, चर्चाको फिल्म जो सँग पनि भिड्न तयार होला आफ्नो कुरा हो, तर वितरण कम्पनि एउटै हुँदा भने रिलिज तोकिसकेका अनि रिलिज तोक्न तयार ‘कृ’ दुबैलाई समस्या हुनसक्छ ।
फिल्मलाई सुवास गिरीले निर्माण गरेका हुन् भने निर्देशन सुरेन्द्र पौडेलले गरिरहेका छन् । फिल्ममा अनमोल केसी त अदिती बुढाथोकीसँगै अनुपबिक्रम शाही लिड अभिनयमा छन् ।
यसैबीच भदौ ८ मा भने अभिनेत्री निशा अधिकारीले निर्माण गरेको फिल्म ‘झ्यानाकुटी’ले रिलिज कन्फर्म गरेको छ । सिमोस सुनुवारले निर्देशन गरेको उक्त फिल्मको अधिकारिक रिलिज भदौ ८ लाई लक गरिएको हो । वितरक सुनिल मानन्धरले समाचारको पुष्टि गरेका छन् ।