बर्ष २०७४ को लागी प्रतिक्षितको सुचीमा परेको फिल्म ‘धनपति’ यहि असार २३ बाट दर्शकमाझ आउँदैछ । निर्माण टिम रिलिज मिति नजिकिँदै गर्दा प्रचार प्रसारमा व्यस्त छ । कलाकार तथा निर्माता निर्देशक मिडियादेखि सार्वजनिक कार्यक्रमसम्म पुगेर फिल्म हेर्न आईदिन दर्शकमाझ आग्रह गरिरहेका छन् ।
दुई बर्ष पहिले रिलिज ‘पशुपतिप्रसाद’ फिल्मको टिमले नै यो फिल्म तयार गरेको हो । जुन फिल्मको अन्तर्राष्ट्रिय रिलिज चल्दै गर्दा पाईरेसीको मारमा परेको थियो । जसको कारण आर्थिक रुपमा निर्माण टिमलाई केहि घाटा पनि भयो । पाईरेसीपछि फिल्म तत्काल युट्युवमा रिलिज गरियो ।
तर अब टुकी आर्ट्सको व्यानरमा अनि दिपेन्द्र के खनाल प्रोडक्सनको सहकार्यमा बनेको फिल्म ‘धनपति’ भने युट्युव रिलिज नहुने भएको छ । सिनेखबरसँगको कुराकानीमा निर्देशक दिपेन्द्र के खनालले ‘धनपति’लाई युट्युवमा रिलिज नगर्ने निर्णय भएको बताए ।
‘हामी फिल्मलाई सव टाइटलमा तयार गर्दछौं, जसले विदेशी दर्शकलाई पनि न्याय गर्ने बुझाइ छ, रिलिज पहिले नै युट्युव पर्खिने दर्शकलाई ज्ञान होओस् कि फिल्म युट्युवमा आउने छैन् ।’ पाईरेसीको बारेमा सिरियस भएको टिम यो पटक त्यो हुन नदिनको लागी कडाईका साथ लागेको छ ।
फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त लिड अभिनयमा छन् । फिल्मको सम्पुर्ण छायांकन तराई भेगमा गरिएको छ ।