लसएञ्जल्स(एजेन्सी) । सन् २००९को हलिउड ब्लकब्लष्टर फिल्म ‘अवतार’ हेरेका दर्शकका लागि एउटा नयाँ खुशीको खबर छ । झण्डै ९ वर्षको विश्राम पछि फिल्मका निर्माता निर्दशक जेम्स क्यामरुनले फिल्मको सिक्वेल आगामी सेप्टेम्बरबाट शुरु गर्दैछन् । अभिनेता साम वार्थिङटन फिल्ममा जेक सलीको भूमिकामा फर्किदैछन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बार्सिलोनामा भएको ट्वान्टीथ सेन्चुरी फक्सको सिने युरोप भेलामा लाइटस्ट्रम इन्टरटेनमेन्टका जोन लान्डाउले सन् २०१७को सेप्टम्बरबाट फिल्मको सिक्वेल शुरु हुने जानकारी दिए । उनले क्यामरुनले अवतार भन्दा अघि धेरै फिल्मको सिक्वेल पनि बनाएकाले ती फिल्म भन्दा अवतारको सिक्वेल सर्वाधिक चल्ने दाबी गरे ।
यसअघि नै ‘अवतार’को सिक्वेल बन्ने बताइदै आए पनि फिल्मको सेट र एनिमेसनमा समय लाग्ने भएपछि निर्माणको तालिकालाई सारिएको थियो । फिल्मको प्रिन्सिपल फोटोग्राफीको काम यो वर्षको अगष्टमा शुरु गरिनेछ । फिल्मको चारवटा सिक्वेल बनाउने घोषणा गरिसकेका क्यामरुनले सबै तयारी पुरा भईसकेको बताएका छन् ।