काठमाडौं । गतबर्ष यूएइको अवुधाबीमा आयोजना भएको ‘पहिलो नेपाली म्यूजिक भिडियो अवार्ड’को दोस्रो संस्करण अब दुबईमा हुने भएको छ । संगिक्षा फिल्मस्ले नमस्ते ट्राभल्ससँग सहकार्य गर्दै आयोजना गर्न लागेको ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’को मनोनयन सार्वजनिक भएको छ ।
राजधानीमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उत्कृष्ट ५ को नाम सार्वजनिकसँगै मनोनयनमा परेकालाई मनोनयनपत्र पनि दिइयो । म्यूजिक र भिडियो गरि दुई समुहमा विभाजन गर्दै विभिन्न १७ विधामा अवार्ड आयोजना गरिनेछ ।
आयोजक संस्थाका अध्यक्ष मनोज केसीले कम भन्दा कम विवादमा भव्य रुपमा अवार्ड आयोजना गर्ने बताए । अवार्डका जुरी संयोजक भरत शाक्यले उत्कृष्ट गीतहरुलाई विभिन्न चरणमा विभाजन गर्दै अन्तिम ५ सार्वजनिक गरिएको बताए ।
यो बर्ष आयोजना हुन लागेको अवार्डमा ‘लाइफ टाइम कन्ट्रिब्यूसन’बाट गीतकार तथा चिकित्सक डाक्टर भोला रिजाललाई सम्मानित गरिनेछ ।
यस्तै, ‘स्पेशल कन्ट्रिब्यूसन’को रुपमा विशेष श्रेष्ठलाई सम्मानित गरिने कार्यक्रममा जानकारी दिइयो । यस्तै, ‘म्यूजिक भिडियो ट्रेन्ड सेटर’ अवार्डको रुपमा चर्चित गीत ‘साँइली’लाई अवार्ड प्रदान गरिनेछ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए ।कार्यक्रममा मोडलहरु नम्रता सापकोटा, आँचल शर्मा, सिपोरा गुरुङ, यशराज, दिकपाल कार्की लगायत पुगेका थिए ।