यो शुक्रबार नेपाली वक्सअफिसमा क्लासको भिडन्त हुँदैछ दुई फिल्मको, फिल्म हुन् ‘रुद्र’ र ‘प्रेमगीत २’ । दुबै फिल्मले कहिँकतै स्टार भर्सेज स्टार बोल्नेछन् त कतै ‘ब्राण्ड भर्सेज स्टारडम ।
शुक्रबारको लागी रिलिज नजिकिँदै गर्दा दुबै फिल्मको ‘काउण्ट डाउन’ यसअघि नै सुरु भईसकेको छ । दर्शक आफ्नो पक्षमा पार्नको लागी सम्बन्धित फिल्मको निर्माण टिम अनि कलाकारहरु मैदानमा छन् । ‘रुद्र’मा एक्सन स्टार निखिल उप्रेती लिड अभिनयमा छन् । निखिल हुनु मात्र नभई निखिल पहिलो पटक भिलेन अबतारमा प्रस्तुत हुनुले पनि यो फिल्मप्रति उनका पछिल्ला रिलिज फिल्ममा भन्दा केहि बढि चासो दर्शकको छ ।
उता ‘प्रेमगीत २’ दुई बर्ष पहिले रिलिज हिट फिल्म ‘प्रेमगीत’को सिक्वेल हो । उत्कृष्ट स्कृनप्ले, सशक्त सांगितिक पक्षका कारण हिट प्रेमगीतको सिक्वेल त्यो भन्दा राम्रो बनेको दाबी निर्माण टिमको छ । सार्वजनिक ट्रेलर र गीत संगीतले यो फिल्म चर्चामा त छ नै अभिनेता प्रदिप खड्काले ‘प्रेमगीत’बाटै कमाएको फ्यान फलोईङले पनि उनको नाममा मात्र पनि यो फिल्म प्रतिक्षित छ । आशुसेन फिल्मस् ले दिएका हाई बजेट अनि उत्कृष्ट मेकिङको कारण पनि ‘प्रेमगीत २’ मा केहि खास भएको आशा दर्शकमा हुनसक्छ ।
त्यसो त रिलिजको पहिलो दिन नै जनैपुर्णिमाको बिदा पर्दा ईनिसियल विजनेस दुबै फिल्मको पहिलो प्राथमिकता हुनेछ । मल्टिप्लेक्समा ‘रुद्र’ भन्दा माथी ‘प्रेमगीत २’ हुनेमा शंका छैन् । किनकी निखिल उप्रेतीका प्रायः फिल्म ‘सिंगल स्कृन हिट छन् । भने ‘प्रेमगीत २’ लाई पनि सिंगल स्कृनमा पर्खिने राम्रै दर्शक हुनसक्छन् । पछिल्लो पटक देशव्यापी अनि काठमाडौं केन्द्रित फिल्मको कन्सर्टमा उपस्थित दर्शक हलमा आउँदैगर्दा यो फिल्मको ओपनिङ पनि उच्च हुनसक्छ ।
निखिल उप्रेतीको नामले नै रिलिजको पहिलो दुई दिन आक्रामक ओपनिङ हुँदै आएकोमा दुई मत छैन् । पछिल्लो फिल्म ‘राधे’ यसको उदाहरण हो भने यो पटक आफ्नै लगानी अनि ब्यानरमा फिल्म ‘रुद्र’ बनाएका निखिलले पछिल्ला फिल्ममा भन्दा पृथक अनि राम्रो बनाउनमा थप मेहनत केहि गरेका छन् कि भन्ने उत्सुकता पनि दर्शकमा छ, जसका कारण नै ‘भैरव’को जत्तिकै ओपनिङ ‘रुद्र’ले गर्ने आशामा यो फिल्मको निर्माण टिम छ ।
प्रेमगीत निर्माता सन्तोष सेनले सिनेखबरसँगको कुराकानीमा फिल्मलाई उत्कृष्ट बनाउन कुनै किसिमको कन्जुस्याईं नगरेको भन्दै हलसम्म आउने दर्शक निराश भएर फर्किन नपर्ने दाबी गरे । ‘प्रेमगीत’ भन्दा पनि ‘प्रेमगीत २’ थप उत्कृष्ट बनेको छ, रिलिजको छेकोमा दर्शकले देखाउनुभएको चासो र पर्खाईले उत्साहित छु’, सेनले थपे । रामशरण पाठकले निर्देशन गरेको यो फिल्ममा उनि आफै पनि अभिनयमा छन् । प्रदिपको अपोजिटमा अश्लेशा ठकुरी छिन् ।
‘रुद्र’ निर्देशक रामजी लामिछाने ‘रुद्र’ मात्र होइन् ‘प्रेमगीत २’ दुबै फिल्मलाई दर्शकको साथ चाहिने भन्दै जुनकुनै नेपाली फिल्मले पाउने सफलता नै आफ्नो खुशी रहेको बताउँछन् । दुई घण्टा बढि हलमा बस्दा दर्शकलाई पुर्णतः मनोरञ्जन दिने फिल्म बनाएको भन्दै एक्शन लभस्टोरी मन पराउने दर्शकलाई ‘रुद्र’ राम्रो खुराक बन्ने उनको दाबी छ । ‘रुद्र’मा निखिलसँगै केहि बर्ष पहिले सार्वजनिक गायक कमल खत्रीको ‘आत्मामा’ बोलको हिट गीतको भिडियोमा मोडलिङमा देखिएका विश्व शर्मा अनि सारा शिर्पाली, ज्याक श्रेष्ठ, रोयद्विप श्रेष्ठ लगायत लिड अभिनयमा छन् ।
दुबै फिल्मले प्रचारलाई तिब्र बनाउँदा अब रिलिजको लागी चार दिन मात्र बाँकी छ । त्यसैले चर्चाका यी दुई फिल्ममा ‘को अघि अनि को पछि’ को निर्णय भने रिलिजको दुई दिनमा नै थाहा हुनेछ ।