यो महिनामा नेपाली फिल्म क्षेत्रमा एकपछि अर्को काण्ड बाहिर आइरहेका छन्। यसै बीच मंगलबार निर्मात्री तथा नायिका सुस्मिता केसीले चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य समेत रहेका रंग पत्रकार उत्सव रसाइलीलाई तल्लो स्तरको भाषा प्रयोग गर्दै धम्की दिएकी छिन्।
सुस्मिताले केही समययता उत्सव रसाइलीलाई मेन्सेन गर्दै विभिन्न गालीसहितको स्टाटसहरु पोष्ट गर्दै आइरहेकी थिइन्। सुस्मिताले मंगलबार रसाइलीको फेसबुक वालमा जातीय र लैंगिक हिंसा हुनेगरी स्टाटस लेखेकी थिइन्। उनले उत्सवको फेसबुक वालमा ‘उत्सव बहिनी उप्स सरी भाई’ भन्दै लैंगिक हिंसा हुनेगरी स्टाटस लेखेकी थिइन्। त्यस्तै उनले उत्सवको प्राइभेट म्यासेज बक्समा ‘रसाइली कुन जातको रे ?’ भन्दै जातीयताको धज्जी उडाएकी छिन्।
सुस्मिताको यस्तो हर्कत पछि उत्सव रसाइलीले त्यसको प्रतिउत्तर स्वरुप एउटा फेसबुक स्टाटस लेखे। जुन यस्तो छ, ‘युवा स्टार अनमोल केसीकी आदरणीय आमा सुस्मिता केसीले मलाई पर्सनल च्याटमा यसरी जात के हो ? भनेर सोध्नु भयो। म दलित समुदायमा पर्दछु। मेरो आफ्नो र अन्य सम्पूर्ण समुदायप्रति सम्मान छ। थप अरु के जान्न चाहानुहुन्छ ? र, सुस्मिता बम्जन उर्फ केसी तपाईलाई रमाइलो गर्ने साह्रो सोख चलेछ, आउनुस् स्टार मलको पहिलो तल्लामा बसेर धित मरुञ्जेल रमाइलो गराइदिन्छु र म भाई हो कि बैनी त्यो पनि प्रष्टसँग देखाइदिन्छु। अन्त्यमा अनमोल केसी आमालाई सम्हाल्नुस्,आमाको रोग पहिचान गरेर बेलैमा उपचार गर्दा करिअर थप उज्जवल हुन्छ।’
पत्रकार रसाइलीको यो स्टाटस लगत्तै नायिका तथा निर्मात्री सुस्मिता केसीले उत्सव रसाइलीलाई फोन गरी धम्की दिएकी हुन्। उनले फोनमा ‘त’ ‘गधा’, ‘तेरो बाउको बिहे देखाइदिन्छु’ लगायतका अपशब्द प्रयोग गरेकी छिन्।
उत्सव रसाइली र सुस्मिता केसी बिचको फोन बार्ता
उत्सव : हेलो…
सुस्मिता : हेलो…
उत्सव : हजुर हजुर
सुस्मिता : को उत्सव हो ?
उत्सव : अँ उत्सव
सुस्मिता : ओइ गधा त कहाँ भन त ? म आउँदैछु ।
उत्सव : म स्टार मलमा छु दिदी, भन्नुन ।
सुस्मिता : म आउँदैछु । तलाई तेरो बाउको बिहे नदेखाई म छाड्दिन ।
उत्सव : हुन्छ । कति बजे आउनुहुन्छ ?
सुस्मिता : तँ पर्खी राख, त्यहाँ मलाई ।
उत्सव : कति बजे आउनुहुन्छ ?
सुस्मिता : कति बजे होइन म आधा घन्टामा आउँछु । तँ मलाई पर्खी राख ।
उत्सव : ए, ल ल ल ।
सुस्मिता : तैले अत्ति न्यूहुँ खोजिस् तेरो म आज देखाउँछु । तलाई पख ।
उत्सव : ए, ल न त ल आउनुस् ।
सुस्मिता : भागिस् भने….
उत्सवः कतिबजे आउनुहुन्छ ?
(फोन सम्पर्क विच्छेद भयो)
सुस्मिताले जातीय तथा लैंगिक हिंसा हुनेगरी प्राइभेट म्यासेज बक्स र सामाजिक सञ्जाल फेसबुकमास्टाटस पोष्ट गरेपछि अहिले यस विषयमा चलचित्र पत्रकार संघले विज्ञप्ति जारी गरेको छ। संघले तीन दिनभित्र लिखित स्पष्टिकरणको मागसहित पत्रकार रसाइलीसँग माफी नमागे चलचित्र पत्रकारहरुले सुस्मिताको विषयमा कलम नचलाउने निर्णय समेत गरेको छ।