नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)मा लामो समयदेखि रक्त रहेको सचिव पदको जिम्मेवारी रबिन आचार्यले सम्हालेका छन् । आचार्यलाई सोमबार बसेको नेफ्टा कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा उक्त जिम्मेवारी प्रदान गरेको हो । यसअघि आचार्य सोहि कार्यसमितिमा सदस्य पदमा थिए ।
झण्डै डेढ बर्ष पहिले संस्थाको हित विपरित कार्य गरेको भन्दै साधारणसभाबाट निर्वाचित सचिव शंकर पाण्डेलाई कार्यसमितिले उक्त पदबाट निस्काषित गरेपछि उक्त उक्त पद रिक्त हुन पुगेको थियो । नेफ्टामा महासचिव पद पनि रिक्त छ । उक्त पदमा रहेका सुरज आचार्यले दिएको राजिनामा पनि यसअघि नै कार्यसमितिले स्विकृत गरिसकेको छ ।
सिनेमाटोग्राफर रहेका समेत आचार्य पछिल्लो पुस्ताका जुझारु चलचित्रकर्मीमा गनिन्छन् । उनले पछिल्लो पटक गत बर्ष प्रदर्शनमा आएको फिल्म ‘डायन क्याण्डल’बाट अमेरिकामा सम्पन्न ‘क्विन्स फिल्म फेस्टिभल’मा उत्कृष्ट सिनेमाटोग्राफरको अवार्ड समेत जितेका थिए । पत्रकारिता विषयमा स्नातक तहको अध्ययन सकाएका आचार्यले फिल्म कलेज ओस्कारबाट सिनेमाटोग्राफीमा पनि स्नातक तह सकाएका छन् ।