काठमाडौं । भारतीय टेलिभिजन च्यानल एम टिभीबाट प्रशारण हुँदै आएको मनोरञ्जनपूर्ण साहसिक रियालिटी शो ‘स्प्लिटसभिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् । देश विदेशबाट भएको अडिसनमा हजारौं मध्येबाट उत्कृष्ट १५ मा परेकी उनी तीन सातादेखि शोमा छिन् । शोको यो दशौं श्रृंखलासम्ममा नेपालबाट पहिलो पटक इशा नै चयन भएकी हुन् ।
अभिनेत्री सन्नी लियोन र रणविजयले सञ्चालन गर्दै आएको शो एम टिभीकै लोकप्रिय रियालिटी शो हो । एमटिभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वाधिक लोकप्रिय रियालिटी शो हो । जसमा आफु पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढी रहेको मोडल इशाले जानकारी गराईन् ।
दुई साता अघिबाट हरेक आईतबार बेलुका ७ः१५ एम टिभीमा प्रशारण हुने यो प्रतियोगितामा भारतका चर्चित मोडल, गायक तथा सेलिब्रेटीहरु छन् । उनीहरुसँग समुहमा इशाले प्रतिस्पर्धा गर्दै उत्कृष्ट १२ को स्थान बनाईसकेकी छिन् ।
ललितपुरको भैंसेपटी निवासी इशा नेपाली मोडल हुन् । नेपालका विभिन्न फेशन शोमा भाग लिईसकेकी उनले ललितपुरको सेन्ट मेरी र भारतको देहरादुनबाट प्लस टु पुरा गरेकी हुन् । त्यसपछि भारतकै नयाँ दिल्लीबाट मिडियामा डिप्लोमा गरेकी उनी केही समयदेखि मुम्बईमा अभिनय सिकिरहेकी थिईन् । एमटिभीबाट करिअर सुरु गरेकी उनी चाँडै नेपाली चलचित्रमा अभिनेत्रीको रुपमा आउने तयारीमा छिन् ।