रेखा थापा नेपाली फिल्म जगतकी चर्चित नायिका हुन्। रेखाको चर्चा फिल्ममा झैं राजनीतिमा पनि हुने गर्दछ। तर राजनीतिमा कुनै राम्रो काम वा योगदान गरेर उनको चर्चा भएको भने होइन। उनि राजनीतिमा पार्टी परिवर्तन गरेर नै चर्चामा आउने गर्छिन्। जसरी फिल्म हलले पुरानो फिल्म चल्न छाडेपछि पुरानो पोस्टर फालेर नयाँ फिल्मको पोस्टर झुन्ड्याउँछ, त्यसरी नै रेखा थापा एउटा पार्टी कमजोर भएपछि अर्को पार्टीमा सरुवा हुन्छिन्।
२०६६ सालमा माओवादीको पक्षमा जनलहर सिर्जना भएपछि रेखा लगायत अन्य थुप्रै कलाकारहरु माओवादी प्रवेश गरेका थिए। दोस्रो संविधानसभाको निर्वाचनपछि माओवादी तेस्रो दलमा के सिमित भएको थियो, रेखाको माओवादी राजनीतिमा सक्रियता ह्वात्तै घट्यो। उनी लामो समय राजनीतिबाट अलग भइन्।
त्यसपछि गत वर्ष राप्रपाका पार्टी अध्यक्ष कमल थापाले उनलाई आफ्नो पार्टीमा प्रवेश गराए। रेखाले राप्रपा प्रवेश गर्दा आफु कमल थापाको एकदमै ठुलो फ्यान भएको बताएकी थिइन्। उनले कमल थापाको गुनगान गाउदै भनेकी थिइन् ‘जति बेलाबाट मैले राजनीतिमा चासो राख्न थालें, त्यति बेलादेखि म कमल थापाको ग्रेट फ्यान थिएँ, छु र रहिरहन्छु।’ उनले आफ्नो पहिलो र अन्तिम पार्टी राप्रपा भएको र आफु मर्दा पनि यही पार्टीको झन्डा ओडेर मर्ने समेत बताएकी थिइन्।
हेर्नुहोस् पार्टी प्रवेश गर्दा यसो भनेकी थिइन् रेखाले…
तर अहिले कमल थापा कमजोर बन्दै गएपछि रेखाले कमल थापाको साथ छाडेर पशुपति शम्शेर राणालाई रोजेकी छिन्। उनी पशुपति शम्शेर राणा नेतृत्वको ‘राप्रपा प्रजातान्त्रिक’मा लागेकी हुन्। राप्रपाको केन्द्रीय सदस्य थापाले मंगलबार मध्यान्ह निर्वाचन आयोगमा पुगेर आफ्नो समर्थन राणालाई रहेको भन्दै नाम सनाखत समेत गरिसकेकी छिन्।
गत फागुनमा भएको राप्रपा एकताको प्रथम महाधिवेशनबाट कमल थापा अध्यक्ष विजयी भएका थिए भने रेखा केन्द्रीय सदस्यमा विजयी भएकी थिइन्।
स्थानीय चुनावमा नराम्रो नतिजा आएसंगै राप्रपाभित्र चर्को असन्तुष्टी देखियो। पशुपति शम्शेर राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गर्ने निर्णय गरे। ‘राप्रपा प्रजातान्त्रिक’ले मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको छ।