मुम्बई(एजेन्सी) । भारतीय चर्चित योग गुरु बाबा रामदेव आगामी फिल्म ‘ये है इंडिया’को प्रमोसनका लागि मैदानमा उत्रिएका छन् । उनी यो फिल्मको गीत ‘सइयां सइयां’मा देखिनेछन् । लोम हर्षद्वारा लिखित तथा निर्देशित फिल्ममा गेवी चाहल र डियाना उप्पल प्रमुख भूमिकामा छन् ।
‘एक यस्तो देश जहाँ करोडौंको बसोबास छ । एक यस्तो देश जहाँ वेदको खोजी भयो । त्यस्तो देशको बारेमा विश्वभरी नै केही गलत धारणा पक्कै छ । भारत अहिले सर्पको देश छैन । यो उन्नत भईसकेको छ ।’ रामदेवले भनेका छन् ।
उनले भारतमा पुरा विश्वलाई नेतृत्व गर्ने क्षमता रहेको दाबी गरे । फिल्ममा भारतको बदलिएको तस्वीर देखाइएको छ । रामदेवले लामो सोचाई पछि फिल्ममा देखिएको बताए । फिल्म १८ अगष्टमा रिलिज हुनेछ ।