मुम्बई(एजेन्सी) । बलिउडका तीन खानका रुपमा परिचित आमिर खान, सलमान र शाहरुख खानलाई आजको दिनमा पनि सुपरस्टारका रुपमा लिइन्छ । यी खानहरु हिट फिल्म दिने अभिनेताका रुपमा अन्य भन्दा अगाडि छन् नै, कमाईको हिसाबले पनि उनीहरुलाई कसैले उछिन्न सकेको छैन । तर अचम्मको कुरा के छ भने उनीहरु बिना पारिश्रमिक फिल्ममा खुलेर अभिनय गर्छन् । तर यसको अर्थ यो होइन कि उनीहरु निःशुल्क काम गर्छन् । उनीहरुले बलिउडमा एउटा नयाँ ट्रेन्डको शुरुवात गरेका छन् । उनीहरु फिल्मबाट पारिश्रमिकको सट्टा फिल्मको मुनाफाको एक हिस्सा आफु राख्छन् ।
केही समय अघि मात्र फिल्म ‘ठग्स अफ हिन्दुस्तान’का निर्माता आदित्य चोपडाले फिल्मको मुनाफाको ७० प्रतिशत रकम आमिरलाई दिन तयार रहेको समाचार सार्वजनिक भएको थियो । यो फिल्ममा आमिरसँग अमिताभ बच्चन पनि प्रमुख भूमिकामा देखिँदैछन् ।
आमिरको पछिल्लो फिल्म ‘दंगल’ले विश्वभरमा करिब दुई हजार करोडको कमार्य ग¥यो । यदि यो फिल्मका लागि आमिरले आदित्यको फिल्म जस्तै निर्मातासँग डिल गरेको भए उनले १४ सय करोड हिस्सा पाउँथे । आमिरको फिल्मले सजिलै रुपमा ५ सय करोडको व्यापार गर्ने गरेको तथ्यांक छ । यदि ‘ठग्स अफ हिन्दुस्तान’ले १ हजार करोड रुपैंयाँको व्यापार गर्न सकेमा आमिरको हातमा ७ सय करोड रुपैंयाँ पुग्नेछ ।
सलमानले हाल छायांकन भइरहेको फिल्म ‘टाइगर जिंदा है’मा कुनै पारिश्रमिक लिएका छैनन् । निर्माताले सलमानलाई फिल्मको मुनाफाको ५० प्रतिशत हिस्सा दिने सहमति पछि सलमानले फिल्ममा अभिनय गरेका हुन् । पछिल्लो फिल्म ‘ट्युबलाइट’लाई एउटा कुनामा राख्ने हो भने सलमानको फिल्मले सजिलै रुपमा ३ सय करोडदेखि ६ सय करोड रुपैंयाँसम्म कमाउने गरेको छ । यदि सलमानको फिल्म ‘टाइगर जिन्दा है’ले बक्स अफिसमा ५ सय करोड रुपैंयाँ कमायो भने सलमानले करिब २ सय ५० करोड रुपैंयाँ पोल्टामा पार्नेछन् । यो एउटा अभिनेताका लागि सर्वाधिक उच्च रकम हो ।
तीन खानबाहेक बलिउडका ‘ए’ ग्रेडका अधिकांश कलाकारहरु पारिश्रमिकसँगै फिल्मको नाफाको केही हिस्सा पनि पाएँछन् । सलमान अक्सर एक फिल्मका लागि ७० करोड रुपैंयाँसम्म पारिश्रमिक लिन्छन् । तर फिल्म ‘सुल्तान’का लागि उनले पारिश्रमिक नलिई फिल्मको मुनाफाको हिस्सा मागेका थिए । यो फिल्मले बक्स अफिसमा करिब ६ सय करोडको कमाई गरेको थियो ।
शाहरुखको पनि काम गर्ने शैली त्यही छ । शाहरुखको पारिश्रमिक महंगो भए पनि उनी पारिश्रमिकको सट्टा फिल्मको कमाईको झण्डै ५० प्रतिशत बढी हिस्सा आफ्नो पक्षमा आउने सहमति गरी फिल्ममा काम गर्छन् । पछिल्लो समयमा आफ्ना फिल्महरुले व्यावसायिक सफलता नपाईरहे पनि उनले आफ्नो लय छाडेका छैनन् ।