मुम्बई(एजेन्सी) । बलिउडका किङ खान शाहरुख खान अभिनित फिल्म ‘जब ह्यारी मेट सेजल’ चल्छ भन्नेमा धेरैको अनुमान थियो । तर त्यो अनुमान केवल अनुमानमा मात्र सिमित भयो । फरक फ्लेबरका फिल्म् बनाउन चिनिएका निर्देशक इम्तियाज अलि निर्देशित फिल्मले पहिलो दिनमा १५ दशमलब २५ करोडको मात्र व्यापार ग¥यो । शनिवार र आइतबार फिल्मले शुक्रबारको तुलनामा उत्साहजनक व्यापार गर्छ भन्नेमा फिल्मका निर्माता स्वयं शाहरुख आशावादी थिए । उनको आशा पनि निराशामा परिणत भयो । फिल्मले एक हप्तामा जम्मा ४५ करोडको मात्र व्यापार ग¥यो ।
बलिउडमा रेकर्ड राख्न सफल प्रभाष अभिनित फिल्म ‘बाहुबली २–दी कन्क्लुजन’ले पहिलो दिनमै ४१ करोडको व्यापार गरेको थियो । अर्का अभिनेता सलमान खानको आशलाग्दो फिल्मका रुपमा हेरिएको ‘ट्युबलाइट’ले पहिलो दिनमा केबल २१ दशमलब १५ करोडको मात्र व्यापार ग¥यो ।
मूलधारका फिल्ममा नदेखिएका प्रभाषले सलमान र शाहरुख जस्ता सुपरस्टारलाई किन पछारे ? यसको केही कारण विस्तारै खुल्न थालेका छन् । भारतीय सञ्चारमाध्यमले यो विषयमा केही विश्लेषण गरेका छन् ।
१. कमजोर थिएटर ट्रेलर
अधिकांश दर्शकहरु फिल्म कस्तो छ भन्ने कुरा फिल्मको ट्रेलर हेरेपछि अनुमान लगाउँछन् । शाहरुखको ‘जब ह्यारी मेट सेजल’, सलमानको ‘ट्युबलाइट’ र अर्जुन कपुरको ‘मुबारकन’को ट्रेलरमा दर्शकको राम्रो नजर पर्न सकेन । ट्रेलर राम्रो नभएकै कारणले पनि फिल्मले ‘माउथ पब्लिसिटी’ पाउन सकेन ।
२. राम्रो विषयको अभाव
फिल्मको ट्रेलर नराम्रो भए पनि फिल्मको कथा पक्कै राम्रो होला भन्ने दर्शकमा भान थियो । तर सोचे भन्दा फरक कथामा फिल्म पाएपछि दर्शक निराश त हुने नै भए, जसको असर व्यापार पनि देखियो ।
३. मनोरञ्जनको अभाव
टिकट काटेर फिल्म हेर्ने दर्शकहरु आफ्नो जीवन भन्दा टाढा रहेर मनोरञ्जनको दुनियाँमा रमाउन चाहन्छन् । फिल्म हेर्दा उनीहरु अधिक मनोरञ्जन चाहन्छन् । तर पछिल्ला फिल्महरु यी सूत्रबाट चुके । सलमानको ट्युबलाइटमा केही मात्रामा मनोरञ्जन भए पनि त्यसलाई दर्शकले स्वीकार्न सकेनन् । शाहरुखको फिल्म ‘जब ह्यारी मेट सेजल’ र ‘रइस’ पनि यो मामलामा नराम्ररी चुक्यो । तर प्रभाषको ‘बाहुबली २ – द कन्क्लुजन’ले भने दर्शकलाई पूर्ण मनोरञ्जन दियो ।
योबाहेक सलमान र शाहरुखको फिल्मले दर्शकलाई विभाजन गरेर आम दर्शक आउन सक्ने हलमा फिल्म नलगाएकै कारण बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन । फिल्मको संगीत पक्ष पनि आकर्षक नभएकाले दर्शकले त्यसमा चासो दिएनन् । सामाजिक सञ्जालमा पनि प्रभाषको जति चर्चा भयो त्यति ंंचर्चा सलमान र शाहरुखको हुन सकेन ।