हाल तराईमा अविरल वर्षा तथा बाढीका कारण जनधनको क्षति बढ्दो क्रममा छ। न्यानो लुगा, खानलाई पानी, औषधि, र बस्नका लागि बासस्थानको पनि कमी हुँदै गएको अवस्थालाई मध्यनजर गरी फिल्म निर्माण कम्पनिहरू ‘जि टु वान पिक्चर्स’ र ‘ब्ल्याक हर्स पिक्चर्स’ले सहयोगको हात अगाडी बढाएका छन्। मोबाइल र इन्टरनेटबाट नै सजिलै पैसा आदान–प्रदान गर्न सकिने ‘इ–सेवा’ कम्पनिसँग सहकार्य गरी निर्देशक तथा कलाकारद्वय निश्चल बस्नेत र आशिफ शाहले यो अभियान सुरु गरेका हुन्।
अभियानमा दुबै निर्देशक एवम् कलाकारहरूले रू ५०/५० हजार सहयोग प्रदान गरेका छन्। त्यसै गरी सहयोग गर्ने कम्पनी ‘इ–सेवा’ले पनि नगद रू २ लाख योगदान गरेको छ। साथै ‘इ–सेवा’का कर्मचारीहरूका तर्फबाट रू १ लाख ५१ हजार जम्मा गरिएको छ। यसरी जम्मा रकम रू ४ लाख ५१ हजारबाट यो अभियानको सुरुवात भएको छ।
भिडियोमा हेर्नुहोस् यसरी गर्न सकिन्छ योगदान :
यो अभियानका बारेमा कलाकार निश्चल बस्नेतले भने ‘अहिले तराईको भू-भागको अवस्था यस्तो भएको बेलामा सकेसम्म आफू नै त्यहाँ पुगेर नै सहयोग गर्नु ठूलो हो। तर त्यहाँ पुग्न नसकिएको खण्डमा पनि हाम्रो यो अभियानले घर-घरबाट सहयोग गर्न चाहनेलाई सजिलो बनाइदिन सक्छ।
त्यस्तै कलाकार आशिफ शाह भन्छन्, ‘यो अभियानका लागि उठाइएको रकम हामीले कुनै पनि प्रशासनिक कार्यका लागि प्रयोग गर्ने छैनौ र सम्पूर्ण रकम राहत कार्यमा प्रयोग गर्नेछौँ।’ यो अभियानको पारदर्शिताका लागि योगदान गरिएको रकम पूरा नै ‘इ–सेवा’को डोनेसन खण्डमा हेर्न पनि सकिने उनले बताए।
‘जि टु वान पिक्चर्स’ र ‘ब्ल्याक हर्स पिक्चर्स’ले निर्माण गरेको फिल्म ‘दुई रुपैयाँ’ भाद्र १६ गतेबाट प्रदर्शनमा आउँदैछ छ। फिल्ममा निश्चल बस्नेत, आशिफ शाह, वुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ।