मुम्बई(एजेन्सी) । बलिउडका सुपरस्टार सलमान खान र शाहरुख खान यतिबेला निकै नराम्रो समयमा गुज्रिरहेका छन् । उनीहरुले अभिनय गरेको पछिल्लो फिल्मले बलिउडमा ब्लकब्लष्टर व्यापार नगरे पनि उत्साहजनक व्यापारलाई पनि निरन्तरता दिन सकेन । इदको मौका पारेर रिलिज गरिएको सलमानको फिल्म ‘ट्युबलाइट’ले फ्लप व्यापार गर्दा यसको प्रत्यक्ष मार वितरक र प्रदर्शकले व्यहोर्नुप¥यो ।
ट्युबलाइट रिलिजको तीन हप्ता पछि रणवीर कपुर अभिनित फिल्म ‘जग्गा जासुस’को हालत झनै पातलो भयो । सलमान र रणवीरको फिल्म नचलेपछि आएको शाहरुखको फिल्म् ‘जब ह्यारी मेट सेजल’ ले व्यापार गर्छ भन्नेमा वितरक र प्रदर्शक आशातित थिए । रोमान्स किङका रुपमा परिचित शाहरुखको अनुष्का शर्मासँगको रोमान्सले दर्शकले मनोरञ्जन लिन्छन् भन्नेमा उनीहरु आशावादी थिए । तर त्यो आशा केवल आशा मात्र रह्यो अर्थात त्यो आशा निराशामा परिणत भयो ।
वितरक कम्पनी एनएच स्टुडियोले सलमानको फिल्मको वितरण अधिकार १ सय ३२ करोड र शाहरुखको फिल्मको अधिकार ८० करोडमा लिएको थियो । तर शाहरुखको फिल्मको व्यापार सलमानको जति पनि जान सकेन । एनएच स्टुडियोका नरेन्द्र हिरावत शाहरुखको फिल्म नचलेपछि अहिले तनावमा छन् । फिल्मको बक्स अफिस व्यापार बिजोक किसिमको छ । शाहरुखको फिल्मको वितरणको जिम्मा लिएका वितरकहरु फिल्मको कमाई देखेपछि पुरै आत्तिएका छन् ।
उनीहरुले शाहरुखलाई सन्देश पठाएर सलमानको जस्तो कदम चाल्न आग्रह गरेका छन् । उनीहरुले आफूहरुको लगानीलाई सलमानले फिर्ता गरिदिएजस्तै फिर्ता गर्न शाहरुखसँग आग्रह गरेका छन् । शाहरुखले भने एनएच स्टुडियोलाई सेटलाइट, म्युजिक र डिजिटल राइट्ससँगै वितरणको राइट्स बेचेर नाफा कमाई सकेका छन् । शाहरुखले फिल्म ‘दिलवाले’ ताका पनि निर्मातालाई २५ करोड रुपैंयाँ फिर्ता गरिदिएका थिए । अहिले तिनै शाहरुख पुनः वितरक र प्रदर्शकको घेराबन्दीमा परेका छन् ।